धरान । बाँया र दाँया विङ्गरका खेलाडी चम्किदा आयोजक धरान फुटबल क्लब २१ औं आमन्त्रण बुढासुब्बा गोल्डकपमा पाहुँना टोलीलाई बिदाइ गर्न सफल भएको छ ।

धरान रंगशालामा मंगलबारको खेलमा दाँया विङ्गर मिलन राई र बाँया विङ्गर वर्तमान राईले खेलको ९ औं र २३ औं मिनेटमा गोल गरे । जसमा पाहुना टोली भारत कोलकत्ताको दलहाउजी एथ्लेटिक्स क्लब स्तब्ध बन्यो । दलहाउजीले आयोजकको टिकीटाका रफ्तारलाई रोक्न सकेन ।

शुरुवाती ९ मिनेटमा मिलनले वान भरसेज वनमा गरेको प्रहार सिधै जाली चुम्यो । १–० को अग्रता लिएपछि एड्भान्समा खेलेको धरानलाई वर्तमान राईले २३ औं मिनेटमा विपक्षी रक्षांपक्तिका खेलाडीको खुट्टाको बल खोसेर पोष्टको दिशा दिए ।

त्यसपछि थप दबावमा खेलेको पाहुना टोलीले गोल गर्ने ‘मुभमेन्ट’ बनाउन सकेन । रक्षापंक्तिमा केही सबल देखिए पनि मिडफिल्ड र फिनिसिङ लाइनमा चुक्दा पाहुना टोली पहिलो खेलबाटै घर फिर्न बाध्य बन्यो । आयोजकका वर्तमान राई खेलको म्यान अफ दी म्याच बन्दै १५ हजार रुपैयाँसहित ट्रफी जिते ।

अब आयोजकले सङ्कटासँग अन्तिम २ का लागि स्पर्धा गर्दै छ । बुधबार भने अन्तिम क्वार्टर फाइलन खेल पाहुना टोली दाफिन्स क्यामरुन र विभागीय टिम एफिएफबीच हुँदै छ । दाफिन्सले हालै मनकामना पोखरा कप उचालेको छ ।