देउराली । धरानका गायक प्रमोद पोर्तेलको नयाँ गीत ‘फर्की आउँछु’ को सुटिङ आज (मङ्गलबार) धरानको पानबारीमा भएको छ ।
 
विदेशिएका युवाहरूलाई स्वदेशमै केही गर्न सम्भव छ भन्ने सन्देश दिने पोर्तेलको यो गीतको म्युजिक भिडियोमा नेपाली चलचित्रकी प्रतिष्ठित अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी छन् ।
पोर्तेलको यस भिडियोमा शहरभन्दा केही दूरीमा रहेको एक परिवार भित्रको आर्थिक अवस्था, विदेश गएरमात्र  धन कमाइ हुन्छ भन्ने एक युवाको मानसिकता र विदेश गएर दुःख गरिरहँदा यति नै दुःख आफ्नै ठाउँमा गरे परिवारसँगै रहेर सुखका साथ रमाउन सकिन्छ भन्ने सन्देश दिइएको छ ।
 
युवाहरूलाई स्वदेशमै सम्भावना छ भन्ने सन्देश दिने खालका गीतहरू कमैमात्र पाएकाले यो गीतमार्फत् सन्देश दिने प्रयास गरेको पोर्तेल बताउँछन् । गीतको लेखन तथा कम्पोजिसन गायक पोर्तेलले आफैं गरेका छन् । गीतको रेकर्डिङ र सङ्गीत संयोजन भने जुधा प्लाउज सिलिगुडीमा गरिएको छ । 
 
म्युजिक भिडियोमा गायक प्रमोद पोर्तेल आफै मुख्य पात्रको भुमिकामा  छन् भने उनकी श्रीमतीको चरित्रमा केकी अधिकारी छिन् । रातो गल्बन्दीको सुटिङका लागि दमक आएकी केकीले यो गीतले समाजलाई सकारात्मक सन्देश दिने भएकाले  म्युजिक भिडियोमा काम गर्न इच्छुक भएको बताइन् ।
 
सुल्तान फिल्मस् युकेले पोस्ट प्रोडक्शन गर्ने यस गीतको म्युजिक भिडियोको  निर्देशन सुल्तान इधिङ्गोले गरिरहेका छन् ।
 
गायक पोर्तेलले यसभन्दा अघि आमा–बच्चाको भूमिकामा तयार भएको ‘आशाको किरण बनी आयौ, बालशोषण रोक बाल विवाह रोक बाल अत्याचार रोक भन्ने सन्देशमूलक गीत र साथीभाइ तथा परिवार बीचको प्रेम सम्बन्धलगायतका गीतको म्युजिक भिडियो बजारमा ल्याइसकेका छन् । प्रमोदको यो चौथो म्युजिक भिडियो हो ।