वराहक्षेत्र/ अन्तरजातीय त्यसमा पनि दलितसँग बाहुन र नेवार दुलाहा भन्दा अचम्म लाग्ला । तर, वराहक्षेत्रको चतरास्थित पुनर्वासमा आइतबार यस्तै उदाहरणीय विहे भएको छ ।  जातीय छुवाछुत र भेदभावले ग्रसित नेपाली समाजमा बाहुन र नेवार दुलाहाले दलित युवतीलाई एकै मण्डपमा विहे गर्र्दै उदाहरण पेश गरेका हुन् ।

वराहक्षेत्रको पुनर्वासमा मोहन शर्मा र संजिप श्रेष्ठले एकै घरको दिदीबहिनीसँग विहे गरेका हुन् । मोहनले माइली बहिनी रञ्जनासँग विहे गर्दा संजिपले जेठी बहिनी सृजना बराइलीसँग लगनगाँठो कसे । सिर्जना र संजिपबीच स्कुल पढ्दैदेखि मायाप्रेम झाँगिएपछि उनीहरूले यसअघि नै विहे गरेको बुबा बलबहादुर बराइलीले बताए ।

तर, औपचारिक रूपमा भने आइतबार मात्रै विहे भएको छ । यता रञ्जनाले फेसबुकमार्फत् मोहनसँग चिनजान भएपछि दुवैले विहे गर्ने निधो गरेको बुबा बलबहादुर बताउँछन् । अमेरिकाको पेन्सलियामा बस्दै आएका मोहनले एकै मण्डपमा विहे गर्नेबारे आफ्ना साढुदाइ सुजीपसँग सल्लाह गरे । सोहीअनुरूप उनी दुई दिनअघि मात्रै अमेरिकाबाट आइपुगेका हुन् ।

झापा बिर्तामोड निवासी मोहन जन्ती लिएर आइपुगे । यता संजिप पनि जन्ती लिएर एकसाथ भेला भए । संजिपका अनुसार आमाबुबा विहेको लागि पहिले नै राजी भए पनि समाजको डरले चुप भए पनि अहिले आएर विहे गर्दा फरक अनुभव भयो । अमेरिकामा बसेका मोहनलाई भने त्यस्तो अवरोध नआएको बताए ।

उनीहरूले मण्डपमा साथ जिउने मर्न कसम खादै सात फेरा लगाए । अनौठो संयोग भनौ, दश वर्ष अगाडि सुजीप र मोहन पत्रमित्रताबाट चिनजान भएका थिए । उनै संजिप र मोहन अहिले साढुदाइ–साढुभाइ बनेका छन् ।

पण्डित ओमजीत गजमेरलाई सघाउँदै भेटिएका दलित सेवा सङ्घ वराहक्षेत्रका अध्यक्ष लंकमान विकले समाजमा कुरीति हटाउन यस्ता विहे उदारहणीय बनेको बताए । २१ औं शताब्दीमा यस्ता कुरीति चीर्नु आवश्यक रहेको बेहुलाद्वयले बताए ।

‘समाजमा मर्दा पर्दा सारोगाहे पर्दा मान्छे नै चाहिन्छ जात त चााहिदैन् । अनि किन यस्तो विभेद ? हामी यस्ता कुरिती लाई चुनौती दिन नै विावह गरेका हौं ।’ बेहुलाद्वयले भने ।