लण्डन (रासस/एएफपी) /बेलायतका राजकुमार फिलिपले आफ्नो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) स्वेच्छिकरूपमा त्याग गरेको घोषणा गरेका छन् ।  गत महिना फिलिप आफैँले चलाएको ल्याण्ड रोभर जीप दुर्घटना भएपछि सञ्चारमाध्यममा बुढ्यौली उमेरमा सवारी चलाउने बारेमा बहस शुरु भएको थियो ।

९७ वर्षीय फिलिप बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति हुन् । किङ्घम राजदरबारले एक विज्ञप्ति प्रकाशन गरी राजकुमारले स्वेच्छिकरूपमा लाइसेन्स त्याग गरेको जनाएको छ ।

प्रहरीले राजदरबारको बाहिरपट्टि भएको उक्त दुर्घटनासम्बन्धी फाइल अभियोजनकर्ता समक्ष पठाएको जनाएको छ । ‘नर्फोक प्रहरीले ल्याण्ड रोभर जीपका ९७ वर्षीय चालकले स्वेच्छिक रूपमा लाइसेन्स फिर्ता गर्नुभएको छ,” प्रहरीले पुष्टि गरेको छ ।

सीपीएसका एक जना प्रवक्ताले घटनामा राजकुमारको नाम जोडिएकाले त्यसैअनुरूप घटनाका बारेमा छानबिन गरिने बताएका छन् । तर प्रहरीले फिलिपमाथि कारबाही गर्ने सम्भावना ज्यादै न्यून रहेको विश्लेषकले बताएका छन् । फिलिपको जीपले किया कारलाई ठक्कर दिएको थियो ।

प्रहरीले किया कारको पछिल्लो सिटमा रहेका बालकलाई भने केही भएको छैन । कारमा सबार एक महिलाको कम्मर भाँचिएको र घुँडामा चोट लागेको छ । राजकुमार फिलिपले सन् २०१७ देखि सार्वजनिक जीवनबाट अवकाश लिएका थिए ।