भद्रपुर / श्री कृष्णप्रणामी मन्दिर धुलावारीको स्थापना भएको ५० वर्ष पुगेको उपलक्ष्यमा आयोजित वृहत धार्मिक स्वर्ण महोत्सव शनिबारदेखि यहाँ शुरु भएको छ ।

पचास वर्षअघि श्री १०८ मङ्गलदासले झापा आएर धुलावारी, चन्द्रगढी, बुधबारे र शनिश्चरेमा चार मन्दिर स्थापना गर्नुभएको थियो । श्री कृष्णप्रणामी धर्मावलम्बीले अपार श्रद्धा गर्ने मङ्गलदास महाराज झापा आएको र मन्दिर स्थापना भएको ५० वर्ष पुगेको अवसरमा धुलाबारीको मन्दिरले स्वर्ण महोत्सव मनाएको हो ।

उद्घाटन समारोह शुरु हुनुअघि धुलाबारी बजारमा रथ परिक्रममासहित शोभायात्रा गरिएको थियो । प्रणामी धर्मबाहेक अन्य धर्मावलम्बीसमेत शोभायात्रामा आ–आफ्ना ब्यानरसहित उपस्थित भएका थिए ।

श्री कृष्णप्रणामी धर्मको सर्वोत्तम ग्रन्थ तारतम्सागर पारायणको प्रारम्भ गर्दै बौद्धिक धर्मगुरु एवं मङ्गलधाम कालिम्पोङका प्रमुख श्री १०८ मोहन प्रियाचार्यले जीवनलाई सकारात्मक सोचतिर डो¥याउन धर्मको जरुरत हुने चर्चा गरे ।  सभामा आशीर्वचन दिँदै करनाल भारतका श्री १०८ जगतराजले हिंसा र मांसाहारका कारण मान्छे पशुभन्दा पनि तल्लो स्तरमा गिर्दै गएको बताए । 

नवतन धाम काठमाडौँका श्री १०८ अमृतराजले महामति प्राणनाथजीले ४०० वर्षअघि नै मानवलाई सुखी, स्वस्थ र आनन्दित बनाउन ज्ञान र दर्शनको अभूतपूर्व खोज गरेको चर्चा गरे । भारत चण्डीगढका श्री १०८ श्यामानन्दले माछा, मासु, मदिरा र तम्बाकु त्याग्न आह्वान गर्दै नेपालमा प्रणानाथजीको सन्देश फैलाउन रथयात्रा शुरु भएको उद्घोष गरे ।

सो महोत्सव फागुन ३ गते समापन हुनेछ । महोत्सव अवधिभर श्रीमत्तारतम १०८ पाठ पारायण हुनेछ भने भागवतविद् पं लीलारस सागरबाट श्रीमद्भागवतको श्रीकृष्ण कथावाचन हुने महोत्सव आयोजक समितिका अध्यक्ष गोपाल सापकोटाले बताए ।