धरान/ दलित विकास समिति धरान उपमहानगरपालिकाको आयोजनामा बिहीबार धरानमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कविता, गित, गजल तथा मुक्तक विधामा सहभागि प्रतियोगी मध्ये धरान ८ का खड्गबहादुर कोइराला प्रथम, धरान-१७ की उषा परियार दोश्रो र धरान १३ की रोनिषा तिखत्री तृतीय बिजेता बनेका छन् ।

उनीहरुलाई क्रमशः २ हजार, १ हजार ५ सय र १ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको दलित विकास समिति धरानका सदस्यसचिव तारा लामगादेले जानकारी दिएका छन् ।

प्रतियोगितामा एक नम्बर प्रदेश सांसद उमिता बराइलीले आफ्नै सृजनामा आधारित कविता वाचन गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन् । उनले कविता मार्फत मुलुकमा तीन वटै तहको सरकार बनेर सबै कानून आइसक्दा पनि सदियौंदेखि अपहेलित दलित समुदायले अधिकार नपाएको उजागर गरिन् ।

कानूनका नाममा दलितहरुलाई विभेद गर्दै अन्तरजातीय विवाहमा बलात्कारको मुद्दा लगाएर फसाउन थालेकाले सो विषयमा सबै सचेत र गम्भिर हुन आग्रह गरेकी छन् ।

साहित्य प्रतियोगितामा समुदायका १५ जनालले प्रतिष्पर्धा गरेका थिए भने अप्रतियोगीका रुपमा मानबहादुर कालिकोटे, कोपिला गौतम भट्टराई, लीला ढकाल, निर्मला नेपाल, विनोद रसाइली जुरेली, सुवास वर्देवा लगायतले समेत आफ्नो सृजना प्रस्तुत गरेका थिए ।

प्रतियोगीहरुले भने दलित समुदायमा विद्यमान जातीय विभेदका विरुद्धमा खरो आवाज प्रस्तुत गरेका थिए । उनीहरुले आफ्नो सृजना तथा रचनामार्फत जातीय भेदभाव र छुवाछुतको अन्त्य गर्न सबै मानव समुदाय एक भई सभ्य समाजको निर्माणमा जोड दिएका थिए ।

धरान उपमहानगर कार्यपालिका सदस्य समेत रहेका दलित विकास समितिका संयोजक किशोर परियारको सभापतित्वमा भएको उक्त कार्यक्रममा दलित समितिका सदस्य खगेन्द्र नेपालीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संयोजक सकुन्तला भुषालले कार्यक्रम बारे प्रकाश पारेकी थिइन् ।

कार्यक्रम सदस्य सचिव तारा लामगादेले सञ्चालन गरेका थिए भने प्रतियोगिताको निर्णायकमा साहित्यकार केशव सुनाम, मणिराज राई (गोठाले) र लिला शंकर रहेका थिए ।

कार्यक्रममा नेपाल सुनचाँदी कला व्यवसायी संघ १ नं. प्रदेशका अध्यक्ष प्रेम लकान्द्री, नेपाल दलित संघका केन्द्रीय सदस्य गोविन्द दर्नाल, वडा नं. १० का सदस्य समशेर वर्देवा, दलित महिला सञ्जालकी अध्यक्ष नरमाया परियार, उत्पीडित महिला सशक्तिकरण अभियानकी उपाध्यक्ष सुनिता सिन्च्युरी, परियार सेवा समाजका केन्द्रीय सदस्य लक्ष्मण दास, ६ नं. वडा सदस्य देवीका विश्वकर्मा, १ नं. वडा सदस्य रिता सुन्दास, अमर सेवा समाजका सचिव गोपाल श्रेष्ठ, पारालिगल कमिटिकी अध्यक्ष मिना पुलामी, महिला सञ्जाल धरानकी पूर्व अध्यक्ष शीला बज्राचार्य, १२ नं. वडा सदस्य चुन्नु थापा मगर, शान्ति तित्रखी, १३ नं. वडा सदस्य उर्मिला परियार, एकल महिला समूहकी अध्यक्ष इन्दु श्रेष्ठ, नेपाल दलित संघ धरानका सभापति गणेश परियार, १८ नं. वडा सदस्य जमुना तिखत्री मोक्तान लगायतका अतिथिहरु रहेका थिए भने कार्यक्रममा एक सय भन्दा बढिको सहभागिता रहेको थियो ।

आर्थिक वर्ष २०७५/०७६ को नगरकार्यपालिकाको लक्षित वर्ग दलित समुदायको लागि बिनियोजित बजेट अन्तर्गत ३० हजार रकममा उक्त कार्यक्रम सञ्चालन गरिएको समितिका सदस्य लक्ष्मी लकान्द्रीले जानकारी दिएकी छन् । दलित विकास समितिले आफ्नो समुदायका साहित्यकारहरुको क्षमता तथा साहित्य विकासका लागि उक्त कार्यक्रम गर्दै आएको बताएको छ ।