पथरी/ बल ब्याडमिण्टन फेडेरेशन अफ नेपालको आयोजनमा भएको इन्डो–नेपाल बल ब्याडमिण्टन प्रतियोगिताको उपाधि भारतले चुमेको छ । विराटनगर–९ स्थित मदरटेरेसा स्कुलको खेलमैदानमा बिहीबार सम्पन्न भएको नेपालका छात्रा तथा छात्र टिमलाई हराउँदै भारतले उपाधि चुमेको हो । प्रतियोगितामा नेपालबाट ७५ जना र भारतबाट ७५ जना गरी जम्मा १५० जना खेलाडी सहभागी थिए ।

प्रतियोगिताको फाइभस इभेन्टको तेस्रो खेलमा छात्रतर्फ भारतले ३५–१८, ३५–१८ स्कोरले नेपाललाई पराजित गरेको थियो भने छात्रातर्फ ३५–१३, ३५–२० को स्कोरले भारतले पराजित गरेको थियो ।
छात्रतर्फ भारतका कप्तान राहुल कुमार, प्रभात राना, वैभव दिक्षित, फैसल खान र कुन्दन दिवानले र नेपालका राजीव राय, पप्पु यादव र अनिल यादवले सबैभन्दा बढी स्कोर गरेका थिए ।

छात्रातर्फ भारतका सोनाली घोष, तुलसी कुमारी, कञ्चन सिंह, श्रुति जिवाने र तनु श्री तथा नेपालका सुप्रिया चौधरी, अस्मिता श्रेष्ठ, ज्योति यादवले सबैभन्दा बढी स्कोर गरेका थिए ।

डबल इभेन्टको छात्रतर्फ भारतले ३५–३१, ३५–१७ स्कोरले पराजित गरेको थियो भने छात्रातर्फ भारतले ३५–१७, ३५–१८ स्कोर गरेको थियो । प्रतियोगितामा भारतबाट छात्रतर्फ फैसल खान र गुल्सन कुमारले खेलेका थिए भने नेपालबाट छात्रतर्फबाट राजीव राय र मोहमद इजरायलले खेलेका थिए ।

छात्रातर्फ भारतका मेघा दुकारे र खुस्बु सोनकरले खेलेका थिए भने नेपालका ज्योति यादव र सञ्जिता दासले खेलेका थिए । मिक्स डबल इभेन्टमा भारतका सुभम् पाण्डे र श्रुति जिवानेको जोडी र नेपालका राजीव राय र ज्योति यादवको जोडीले प्रतिस्पर्धा गरेको थियो । उक्त प्रतियोगितामा भारतले ३५–२२, ३५–१८ स्कोर गरी नेपाललाई पराजित गरेको थियो ।

माघ २२ गतेदेखि सञ्चालन भएको खेल बिहीबार सम्पन्न भएको छ । प्रदेश–१ का सांसद् जयराम यादवको प्रमुख आतिथ्यतामा सम्पन्न पुरस्कार वितरण तथा समापन कार्यक्रममा सांसद् यादवले दुई देशीय सम्बन्धलाई यस खेल प्रतियोगिताले अझ मजबुत बनाएको बताएका थिए ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य राजेशकुमार दास, अभिभावक सङ्घ नेपाल प्रदेश– १ का अध्यक्ष देवी पन्थी, प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमका अध्यक्ष सञ्जयकुमार यादव थिए ।

प्रतियोगितामा बल ब्याडमिण्टन फेडेरेशन अफ एसियाले तय गरेका नियमानुसार फाइव इभेन्ट, मिक्स इभेन्ट र डबल इभेन्ट खेलहरू सञ्चालन गरिएको आयोजक अमिष रेग्मीले बताए ।