टोकियो (रासस÷एएफपी) जापान सरकारले रिपोर्टिङका लागि युद्धग्रस्त यमन जान लागेका एक जना वरिष्ट पत्रकारको पासपोर्ट सरकारलाई बुझाउन आदेश दिएको छ ।

गत वर्ष सिरियामा विद्रोहीको कब्जाबाट एक जना जापानी पत्रकार मुक्त भएर जापान फर्किएलगत्तै युद्धग्रस्त क्षेत्रमा रिपोर्टिङका लागि जापानी पत्रकारलाई जान अनुमति दिने वा नदिने भन्नेमा जापानमा चर्को बहस भएको थियो ।

उक्त बहसपछि सरकारले युद्धग्रस्त क्षेत्रमा जापानी पत्रकारलाई जान अनुमति नदिने निर्णय लिएको थियो । स्थानीय सञ्चार माध्यमसँग कुरा गर्दै ४९ वर्षीय पत्रकार कोसुके चुनिओकाले जापानी अध्यागमन अधिकारीले टोकियोस्थित हानेदा विमानस्थलमा आफूलाई रोकेको जानकारी दिनुभयो ।

उहाँले आफ्नो पासपोर्टसमेत सरकारी अधिकारीलाई बुझाउन आदेश दिइएको बताउनुभयो । जापानका विदेशमन्त्री तारो कोनोले हानेदा विमानस्थलमा यमन जान लागेका पत्रकारलाई त्यसतर्फ प्रस्थान गर्न रोक्नेगरी सरकारले आदेश दिएको जानकारी दिनुभयो । चुनिओकाले कतार र सुडान हुँदै युद्धग्रस्त यमन पुग्ने योजना रहेको बताउनुभएको छ ।