धरान / विश्वमा अशुद्ध बन्दै गएको वातावरणलाई शुद्ध बनाई नेपालमा हरित क्रान्तिको शुरुवात गर्न वराहक्षेत्रको प्राचीन हरिद्वार चतराधाममा श्रीराम तारकब्रह्म महायज्ञको शुरु भएको छ ।
माघ २७ गतेबाट शुरु हुन लागेको श्रीरामतारक महायज्ञका लागि ९ तले यज्ञमण्डप तयार भई १ सय ८ हवन कुण्ड निर्माण भएको जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठ पीठाधीस महायोगी सिद्धबाबा कृष्णदास महाराजले जानकारी दिए ।
मानवीय मूल्य मान्यतामा आएको ह्रास र मनपरी वातावरण दोहनका कारणले विश्वमा बढेको पर्यावरणीय असन्ुतलनलाई निराकरण न्यूनीकरण गर्न महायज्ञ गर्न लागिएको बताइएको छ ।
नेपालमा पहिलो पटक १२ सय साधक द्वारा १ अर्ब ६० करोड मन्त्रजाप गरी सम्पन्न हुने.यज्ञको धार्मिक आस्था र विश्वासस“गै यसको भौतिक वैज्ञानिक महत्व रहेको कृष्णदास महाराजले बताए । १६ करोड हवनाचार्य सहितको महायज्ञमा प्रयोग हुने शुद्ध घिउ,तेल तथा तिलजौ, चामल, आँप, पीपलजस्ता औषधीय जडिबुटी र सामग्री हवनबाट उत्पन्न हुने धु“वाले वायुमण्डललाई शुद्ध गर्ने र ओजोन तहको घनत्वलाई बढाउने कृष्णदास महाराजको दावी छ ।
प्रदेश सरकारको बहुवर्षे हरित महाअभियान
प्रदेश एक सरकारले बहुवर्षे योजनासहित हरित महाअभियान घोषणा गर्न लागेको छ ।
सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा २६ माघदेखि शुरु हुने पहिलो श्रीराम तारकब्रम्ह महायज्ञको उद्घाटनका दिन प्रदेश एक सरकारले हरित महाअभियान घोषणा गर्न लागेको हो ।
नेपालको इतिहासमा पहिलो पटक भइरहेको दावी गरिएको तारकब्रम्ह महायज्ञको उद्टघाटन २६ माघमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दैछिन् । यही यज्ञ उदघाटनकै अवसर पारेर प्रदेश–१ सरकारले पनि प्रदेशलाई हराभरा र स्वच्छ बनाउन बहुवर्षे हरित महाअभियान सञ्चालन भएको घोषणा गर्नेछ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका अनुसार ७ फागुनसम्म सञ्चानल हुने तारकब्रम्ह महायज्ञको आयोजना पनि वायुमण्डललाई शुद्ध बनाउनका लागि आयोजना भइरहेको र सोही अवसर पारेर प्रदेश सररकारले पनि विशेष बहुवर्षीय योजना बनाएर प्रदेशलाई हराभरा बनाउन हरित महाअभियान सञ्चालन गर्न लागेको हो ।
आवासीय तीन र बाह्य पाँच हजार गरी दैनिक सात हजार मानिसको सहभगिता हुने अपेक्षा गरिएको महायज्ञ सुनसरीको वराहक्षेत्र नगरपालिका १ चतराधामस्थित योगी तथा वनस्पति विज्ञ डा. श्रीवैष्णव कृष्णदासजी महाराजको परिकल्पनामा महायोगी सिद्धबाबा अध्यात्मिक प्रतिष्ठान र जगद्गुरु श्रीरामानन्दार्चाय सेवापीठ नेपालले आयोजना गर्न लागेको हो । प्रदेश सरकारले घोषणा गरेको बहुवर्षे हरित महाअभियान सिद्धबाबा प्रतिष्ठान र श्रीरामानन्दार्चाय सेवापीठको सहकार्यमा सञ्चालन हुनेछ ।
प्रदेशलाई हराभरा बनाएर कृषि उत्पादन बढाउनु र अभियानको मुख्य लक्ष्य रहेको प्रदेश–१ कृषि भूमि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख मनोज यादवले बताए । उनका अनुसार हरित अभियानलाई प्रभावकारी बनाउन प्रदेश एक सरकारले सबै क्षेत्रका विज्ञहरूलाई सहभागी गराएर विशेष योजना निर्माण गराएको छ । योजनाअनुसार हरेक वर्ष विशेष अभियान सञ्चालन हुनेछन् । महाशाखा प्रमुख यादवले भने, ‘सरकारले योजनालाई अन्तिम रूप दिइसकेको छ त्यही योजनाका आधारमा हरेक वर्ष कृषि, वन र वातावरणसँग सम्बन्धित महाअभियान सञ्चालन हुनेछन, हरित महाअभियानमा बालीनाली, जडबुटी र जैविक विविधताका लागि एक किसान पचास डाले घाँस, एक किसान पाँच वनस्पती, ‘एक घर पाँच योग पाँच जडिबुटीलगायतका विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
‘सबै भन्दा बेस्ट एक नम्बर प्रदेश’ को मूल नारालाई सार्थक बनाउन हरित प्रदेशको स्वावलम्बी र स्वरोजगार नेपाली बनाउन ‘श्रीराम तारकब्रम्ह महायज्ञ र हरित महाअभियान सहयोगी हुने यज्ञका परिकल्पनाकार कृष्णदासजी महाराज पनि बताउँछन् । उनका अनुसार यज्ञमा होमबाट उत्पन्न भएको तत्वले वायुमण्डलमा भएको विकारलाई नष्ट गरेर शुद्ध बनाउने काम गर्छ । जसले गर्दा वातावरण शुद्ध भएर अति र अनावृष्टि नियन्त्रण हुन्छ र शुद्ध र पोषिलो वर्षा हुन्छ । जसले धर्तीको उत्पादकत्व क्षमता बढाउँछ र वनस्पति र जीवजन्तुको आयू र गुणमा बृद्धि गराउँछ ।

पहिलो पटक हुँदैछ वराहक्षेत्रमा ‘तारकब्रम्ह’ महायज्ञ
माघ २५ गते शोभायात्राबाट शुरु भएको महायज्ञको उदघाटन माघ २६ राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् । महायज्ञमा भारतको विभिन्न सम्प्रदाय, अखाडाका जग्दगुरु, मठाधीस, पीठाधीस, महामण्डेलेश्वरलगायत सयौं साधु सन्यासी आउने पीठाधीस कृष्णदासले बताए ।
महायज्ञ आयोजनाका लागि आयोजक महायोगी सिद्धबाबा अध्यत्मिक प्रतिष्ठान र जगद्गुरु श्रीमानन्दाचार्य सेवापीठ नेपालले चतराधामस्थित श्रीरामान्द सेवापीठ हुनमान मन्दिर परिसरमा ११ तले कलात्मक हवनकुण्ड निर्माण गराएको छ । उक्त्त हवनकुण्डभित्र हवनका लागि विभिन्न १०८ प्रकारका हवनकुण्डहरू बनाइएका छन् । यही कुण्डमा १२ सय जना साधकहरुले १६ करोड हवानार्चाय सहित १ अर्ब ६० करोड पटक ‘तारकब्रम्ह मन्त्र’ जप गर्ने छन् । उक्त्त महायज्ञमा देश विदेशका प्रकाण्ड आत्यात्मिक विद्वानसहित योग साधकदेखि सयौं योगाचार्य र धार्मिक प्रवक्त्ताहरूको सहभागिता हुने डा. कृष्णदासजीले जानकारी गराए ।

दाताकाे ८ कराेड सहयाेगमा सय दिनमा १२८ काेठे भवन निर्माण 
तीन हजार आवासीय र पाँच हजार बाहिरबाट आएकासहित दैनिक सात हजार मानिसको सहभागिता हुने अपेक्षा आयोजकको छ । उक्त्त महायज्ञका लागि दाताहरूको स्वैच्छिक सहयोगमा १२८ कोठाको तीन तले तीन वटा सुविधा सम्पन्न पक्की भवन एक सय दिनमै निर्माण गरिएको छ । नुमना कन्ट्रक्सन कम्पनी प्रालिले ८ करोड ५० लाखको लागतमा एक सय दिनमै निर्माण सम्पन्न गरेको उक्त्त भवनका हरेक कोठा दाताहरूले आफना पितृको सम्मानमा निर्माण गरिदिएका छन् । यस्तै महायज्ञ अवधिभर अस्थायी आवास घर र शौचालयहरू पनि निर्माण गरिनेछन् । दैनिक बिहान ६ देखि ८ बजेसम्म पूजा ९ देखि १२ बजे साथै दिउँसो १ बजेदेखि ३ बजेसम्म होम हुनेछ । ४ बजेदेखि ७ बजेसम्म देश विदेशका यज्ञाचार्य, आध्यात्मिक र योग विज्ञ र धार्मिक प्रवक्त्ताहरूले प्रवचन दिनेछन् । साँझ १० बजेसम्म सहभागीले भजन किर्तन गर्नेछन् । यज्ञमा होम गर्न चाहनेले आफनो दक्षता अनुसारको शुल्क बुझाएर होम गराउन र विभिन्न मेवा र प्रसादहरू यज्ञमा चढाउन पाइने छ । यज्ञमा होम गर्नका लागि लाखौं केजी शुद्ध जौ, तील, शुद्ध गाईको घिऊ, विशिष्ट प्रकारका दाउरालगायतका सामग्री प्रयोग गरिनेछ ।

के हो तारकब्रम्ह यज्ञ
हिन्दू अध्यात्मअनुसार तारकब्रम्ह मन्त्र जप गरेर गरिने होम नै तारकब्रम्ह यज्ञ हो । यो मन्त्र पौराणिक कालमा देवताहरूले जप गर्ने गर्दथे । पछि पृथ्वी जगतको कल्याणका लागि ठूला महाराजाहरूले यो यज्ञ लगाउने गरेका थिए । यो मन्त्रको जप गरेर होम गर्दा उत्पन्न धुवाँबाट एक पटकमा एक सय आठ प्रकारका साइकोन उत्पन्न हुने र त्यसले वायुमण्डललाई शुद्ध बनाउने काम गर्दछ । जसले प्रचुरमात्रामा अक्सिजन उत्पादन गराउँछ । ओजोन तहको घनत्व वृद्धि भई सूर्यबाट आउने हानिकारक विकिरणलाई छेकेर पृथ्वीलाई शुद्ध पार्न सघाउँछ । जसले गर्दा अतिवृष्टि, अनावृष्टि नियन्त्रण हुन्छ र पृथ्वी उर्वर बन्छ साथै दिव्य अन्न र औषधीय वनस्पतिको उत्पादन बढ्न गई समग्र प्राणीको रक्षा हुन्छ । यो यज्ञले पितृउद्धार, ग्रहदोष शमन गर्ने, श्राप निवारण गर्ने, शरीरलाई रोगमूक्त बनाउन सहयो पनि गर्छ । परिकल्पनाकार डा कृष्णदासका अनुसार तारकब्रम्ह यज्ञ नेपालमा पहिलो पटक र विश्वमा सात सय पाँच वर्ष पछि हुन लागेको हो ।