काठमाडौं / ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपित यूएईबाट समातिएका छन् । काव्रे घर भई दशक देखि यूएई बस्दै आएका हरि खड्का भन्ने हरिशरण खड्कालाई त्यहाँको प्रहरीको सहयोगमा समातिएको हो । उनलाई एक साता अघि पक्राउ गरिउको प्रहरी प्रधान कार्यालय, काठमाडौंले जनाएको छ । खड्कासहित प्रकरणमा संलग्न अन्य १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल( मा रेड नोटिस जारी भएको थियो ।

उनी त्यहाँ जागिर नै छाडेर सुन तस्करीमा लागेको अनुसन्धानबाट खुलेको छ । पछिल्ला वर्षहरुमा मोरङ, उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ मार्फत उनले सुन नेपाल भित्र्याउने गरेको बताइएको छ ।

प्रकरणमा रेड नोटिस जारी भएका मध्ये रमेश उप्रेती र बेनु श्रेष्ठ यूएईमै पक्राउ परिसकेका छन् भने मोहनकुमार अग्रवाल, गोविन्दप्रसाद तिवारी, टुकबहादुर मगर, भोजराज भण्डारी, रोहित आचार्य, चेतनाथ भण्डारी, कृष्ण बस्नेत, कृष्ण गोपाल अग्रवाल र मोहमद उस्ताम मियाँ अझै फरार रहेको प्रहरीले जानकारी दिएको छ ।