फ्रान्कफर्ट । युरोपेली केन्द्रीय बैंक (इसीबी) ले ५०० दरको युरो नोट विस्थापन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । दैनिक जीवनमा कमै प्रयोग हुन थालेपछि इसीबीले उक्त बैंक नोट हटाउन लागेको हो । 
कतिपय अपराधीहरुले सजिलोका निम्ति यो बैंक नोट प्रयोगमा ल्याएका भएपनि नगदमै कारोबार गर्न रुचाउने जर्मनीका आम नागरिकलाई इसीबीको यो निर्णयले खिन्न बनाएको छ । 
आइतबारदेखि नै १९ मध्ये १७ वटा युरोपेली मुलुकहरुका केन्द्रीय बैंकहरुले बैजनी रङ्गको ५०० दरको नोट जारी गर्न छाड्नेछन् । 

जर्मनी र अस्ट्रियाका केन्द्रीय बैंकले मात्र केही समय यो नोट प्रचलनमा ल्याउनेछन् । युरोपेली केन्द्रीय बैंकको विज्ञप्ति अनुसार सहज वातावरण निर्माणका लागि अप्रिल २६ सम्म यी दुई मुलुकले ५०० दरका बैंक नोट प्रयोग गर्नेछन् । 

जर्मनीको मार्गबर्गका मेडिकल प्राविधिज्ञ रल्फले युरोपको सबैभन्दा ठूलो एकल मुद्रा अर्थात् ५०० दरको नोट विस्थापित गर्न लागेकामा असन्तोष प्रकट गरे । उनले ५०० नोटले कारको किस्ता तिर्ने गरेको अनुभव सुनाए । “मलाई धेरै रकम भुक्तानी गर्नुपर्दा ठूलै बैंक नोट चाहिन्छ, र यो मलाई मन पनि पर्छ । यसको अर्थ म आपराधिक चरित्रको व्यक्ति त होइन ।” 

इसीबीको यो निर्णयसँगै युरोपेली क्षेत्रका अरु बैंकहरुले पनि विस्तारै यो नोट जारी गर्न र लिन बन्द गर्नेछन् । इसिबीले यसको साटो अरु कम मूल्यका नोटहरुको संख्या बढाउनेछ । तर, घरमा ५०० का नोट राख्दैमा आत्तिनु पर्दैन, किनभने यी सबै नोटको वैधानिकता सुनिश्चित गरिएको छ । 

“मानिसहरुले यो नोट चलाउन वा घरमै राख्न सक्छन्,” इसीबीकी प्रवक्ता इभा टेलरले बताए । गत महिना युरो नोटको प्रवाह हुँदा ५०० दरको नोटको हिस्सा करिब २ प्रतिशत मात्र थियो ।