सृजनशीलताले कोही कम उमेरको र कोही बढी उमेरको भन्दैन । शारीरिक अपाङ्गताले पनि सृजनशीलतालाई छेक्दैन । कोही धनी र कोही गरीबको अवस्था समेतले सृजनशीलतालाई असर पार्दैन । मान्छे भित्रको सृजनशीलता अप्ठेरोमा फुल्न खोज्छ । अँध्यारोमै आफुलाई राँको बनाउन प्रयत्न गर्छ ।

१० वर्षका सीजल थापा र ६० वर्ष कटेका कृष्णप्रसाद सिग्देलसँगसँगै प्रतियोगिताको प्रतिष्पर्धी बनिरहेका थिए । त्यतिमात्र होइन, दुबै खुुटटामा समस्या भएर हिँड्डुल गर्न अप्ठेरो खेपिरहेका अर्थात फरक क्षमताका लक्ष्मीप्रसाद कन्दङवा पनि बालक र बृद्धसँग प्रतिष्पर्धा गर्न उत्तिकै सक्रियताका साथ फरक क्षमता देखाउन हाँसी हाँसी सामेल भए ।

बालक, ज्येष्ठ र अपाङ्गताको अवस्था भोग्ने एकैठाउँ रहेको प्रतिष्पर्धा कस्तो होला र त्यसले कस्तो नतिजा देला भन्ने प्रश्न उठ्ला । तर यो प्रतिष्पर्धा स्वच्छ, समान पहुँच स्थापना गर्ने र सही एवम् सकारात्मक नतिजा निकाल्ने गजवको साझा खेल बन्न पुग्यो ।

मोरङको पथरीशनिश्चरेस्थित फ्रेन्डसीप चेस क्लबले देशका प्रख्यात खेलाडी सहित नवोदित खेलाडीलाई एकै ठाउँ राखेर गराएको बुद्धिचाल प्रतियोगिताका सहभागिको प्रसंग हो यो । ‘आफुभन्दा सवैजना ठूलासँग खेल्नु पर्दा पहिले त अलि नर्भस भएको थिएँ तर पछि ठीकै भयो, धेरै कुरा सिक्न पाएँ ।’– प्रतियोगितामा उमेरले कान्छा खेलाडी विराटनगर ८ का १० वर्षीय सीजल थापाले भने ।

विराटनगरमा भएको आठौं राष्ट्रिय  खेलकुदमा बुद्धिचालबाट सहभागि उनी जिल्लाका ४ वटा प्रतियोगितामा पुरस्कृत भइसकेका उत्साहित उर्जाशील खेलाडी हारेछन् ।

०७५ माघ ५ देखि ९ गतेसम्म सञ्चालित सहीद रत्नकुमार वान्तवा प्रथम राष्ट्यि खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको माध्यमबाट नगरको पहिचान थप झल्काउने हिसावले देशभर चिनिन पायो । एक प्रकारले बुद्धिचालको मैला नै लगाएर नेपालकै उत्कृष्ठ प्रतियोगितामा दर्ज भएर बुद्धिचालका खेलाडीलाई प्रोत्साहित गर्न सफल भयो ।

खेल हेर्न जनप्रतिनिधि तथा समाजका अगुवा अनि खेलप्रेमीहरुको दैनिक जममघट भइरह्यो । के बालक, के बृद्ध, के महिला, के फरक क्षमता भएका र दिमागी स्वस्थता तथा रणनीतिक कुशलता प्रवद्र्धन गराउन सबैका लागि एकैथलोमा सँगसँगै प्रतिष्पर्धा गर्ने माध्यम बनेपछि दुवै खुट्टामा समस्या भएपनि मनको उत्साहले तेह्रथुम आठराई गाँउपालिकाका लक्ष्मीप्रसाद कन्दङवा दर्विलो प्रतिष्पर्धी बन्न पथरी आइपुगे ।

तेह्रथुमबाटै आफ्नो तिनचक्के स्कुटरमा विस्तारो गरी गुड्दै पथरी आए अनि आयोजकले उपलब्ध गराएको ट्राइसाइकलमा कार्यक्रमस्थल सिनभिलेज पार्टी प्यालेस बाहिर भित्र गर्दै सहजता महसुस गरे ।

‘खाली काठमाडौंमा केन्द्रीत हुने चेसको राष्ट्रिय  प्रतियोगिता १ नम्वर प्रदेशमा हुने खबर पाएपछि म कहाँ घरमै रहन सक्नु र  मनले दिँदै दिएन र आइपुगे ।’– उनले उत्साहित शैलीमा भने । आफ्नै गाउँमा सामुदायिक विद्यालयमा शिक्षण पेशामा आवद्ध उनी जिल्लामा धैरै पटक च्याम्पियन भइसकेका रेटेड खेलाडी रहेछन् ।

त्यहाँका लागि सवैभन्दा ज्येष्ठ खेलाडीका रुपमा बाघचालका राष्ट्रिय च्याम्पियन भइसकेका कृष्णप्रसाद सिग्देल सहित ६० वर्ष टेक्दै गरेका मोहनसिंह प्रधान, ०४५ सालमा नेपालको च्याम्पियन बनेका नविन तण्डुकार, झापा विर्तामोडकी राधिका लिम्बूहरुको उत्साह भरिलो थियो । तण्डुकार भन्दै थिए ‘मोरङ आफु पहिलो चोटी आएको अवस्थामा शान्त र रमणीय वातावरण भएको पथरीशनिश्चरेमा अन्तराष्ट्रिय प्रतियोगिता गर्न सक्षम जागरुकहरु पाएँ ।’

सन् २००४ मा नेपाललाई पहिलो पटक स्पेनमा चेस ओलम्पियाडमा सहभागि भएको ६ खेलाडीमध्येका काठमाडौंका सुरवीर लामा पनि खेलमा प्रतिष्पर्धा गरिरहेका छन् । उनी सन् २००८ का पूर्व राष्ट्यि च्याम्पियन हुन् ।

अन्य पूर्व राष्ट्रिय च्याम्पियनमा, काठमाडौंका बद्रीलाल नेपाली, नविन तण्डुकार, झापा दमकका भूपेन्द्र निरौला निरज, हेटौंडाका कृष्ण थापा र हाल बढी रेटिङ भएकामध्येका रिजेन्द्र राजभण्डारी प्रतियोगि बनेका थिए ।

बद्रीलाल त नेपालका तीन पटक च्याम्पियन बनिसकेका बेजोड खेलाडी हुन् । महिलातर्फ रेटिङ प्राप्त खेलाडी सुजना लोहनी सहित ९ महिलाको सहभागिता रह्यो । काठमाडौं, भक्तपुर, भैरहवा, हेटौडा, धनकुटा, सिरहा, सप्तरी, सुनसरी, तेह्थुम, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङबाट प्रतिष्पर्धामा सहभागि भए ।

रेटेड र ननरेटेड गरी नगरका १० सहित कुल १ सय ३५ जनाको संख्यामा सहभागि भएर राजधानी काठमाडौं बाहिरको ठूलो र भव्य प्रतियोगिता भएको बुद्धिचालका पहिलो अन्तरराष्ट्यि आरबीटर ( रेफ्री ) तथा नेपाल बुद्धिचाल संघका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र खाइजुको ठहर छ ।

संघका अध्यक्ष एकलाल श्रेष्ठले पनि आफु यहाँको उत्सुकतापूर्वकको जमघटबाट थप उत्साहित भएको बताएका थिए । यसखाले जमघट अनि स्थानीयको सहयोगले अब अन्तरराष्ट्यि प्रतियोगिता गर्न उक्साएको आयोजक क्लबका अध्यक्ष अमीर राईले उत्साहित हुँदै सुनाए ।

पहिलोलाई ५० हजार, दोस्रोलाई ४० हजार, तेस्रोलाई ३० हजार हुँदै ३९ जनासम्मलाई पुरस्कृत गरेर जीत जीतको अवस्थातर्फ सवैलाई उत्प्रेरित गराउन प्रयत्न रह्यो । जसमा झापा चन्द्रगढीका इन्जिनियरका विद्यार्थी २३ वर्षीय सुश्रुत दहालले पहिलो स्थान हाँसिल गरेर आफुलाई स्थापित खेलाडी दर्ज गरे ।

‘यो प्रतियोगिताले हामीलाई देशभरी चिनाउनु मात्र होइन खेलकुदमा नगरपालिकाले अझ व्यवस्थित योजना बनाउन घच्घच्याएको छ ।’ पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले भने ‘त्यसका लागि हामी लागि पर्छाैं ।’ पथरीशनिश्चरे नगरपालिकाले त्यस प्रतियोगिताका लागि २ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

त्यसो त प्रतियोगिताको उद्घाटनका क्रममा बुद्धिचालको उत्साह देखेर प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले हालसम्म बुद्धिचालप्रति सरकारी चासो खासै नभएको जनाउँदै आफुले प्रदेशमा केही गर्ने बताएका थिए ।

नगरमा नगरपालिकाको उपसमितिका रुपमा खेलकुद विकास समिति गठन भएको छ । जुन समितिमार्फत प्रत्येक वडामा एउटा एउटा खेलको प्रतियोगिता गर्ने कार्यक्रम वडा नम्वर ४ मा जुनियर जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताबाट सुरु भएको छ ।

नगरमा खेलकुदबाट युवा पुस्तालाई सृजनशील बनाउने प्रयत्नको सुरुवातकाबीच राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिताले खेल क्षेत्रमा केही गर्नुपर्ने रहेछ भन्ने कुरा सम्बन्धित पक्षलाई बोध गराएको छ ।

हरेक काममा सृजनशीलता हुन्छ । अर्थात हरेक कामलाई सृजनशीलत तरिकाले अघि बढाउन सकिन्छ । सृजनशीलता भनेको साहित्य कला हो भन्ने हाम्रो बुझाई केन्द्रीत छ । तर हरेक कामलाई सृजनशील बनाएर त्यसमा कला भर्न सकिन्छ ।

मान्छेको मनलाई तरंगित पार्दै नयाँ सम्भावना, परिवर्तन र सकारात्मक चिन्तनको बाटोमा हिँड्नु सृजनशीलता हो । सृजनशीलता जीवनका लागि हो । कुलतमा लाग्ने अवस्था भएकाहरुलाई यसखाले सृजनशीलताले जीवन बुझाउँछ ।

बुद्धिचालमा सृजनशील बनेर बुद्धि मात्र होइन विवेक बढाउने कामका होस् । बुद्धिचालमा राजालाई जित्नु महत्वपूर्ण हुन्छ । तर त्यहाँको एउटा राजालाई जितेर फेरि सबै राजै राजा बन्ने दम्भ समाज अनि राजनीतिमा नहोस् भन्ने कामनाका साथ बुद्धिचालप्रति बढेको उत्साहका लागि सेल्यूट ।