रियो दि जेनेरियो ।  ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा रहेको बाँध भत्किदा कम्तीमा सात जनाको मृत्यु भएको छ । 

शुक्रबार बिहान भएको घटनामा परी अरु नौ जना घाइते भएका र १५० भन्दा बढी बेपत्ता भएका अधिकारीहरुले बताएका छन् । मिनास गिरैस राज्यमा यो घटना भएको सरकारी अधिकारीहरुले शुक्रबार बेलुका सञ्चार माध्यमहरुलाई जानकारी दिएका छन् । 

पिडितहरुका बारेमा थप विवरण भने सार्वजनिक गरिएको छैन । घटनास्थलमा एक सय भन्दा बढी व्यक्तिहरु छुट्टा छुट्टै उद्धार तथा खोजी कार्यमा लागेका छन् । घटनास्थलमा ४२७ भन्दा बढी कामदारहरु काम गरिरहेकोमा १५० भन्दा बढी कामदारहरु अहिले सम्पर्कमा नरहेको अधिकारीहरुको भनाई छ । 

कामदार बाहेक स्थानीय बासिन्दाहरुपनि बेपत्ता भएको आशंका गरिएकाले बेपत्ता हुनेहरुको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । माटोको पहिरो गएकाले ब्रुमाडिन्हो नगरपालिकामा रहेको सो बाँध भत्किएको उद्धार कार्यमा खटिएकाहरुले बताएका छन् । 

बाँध भत्किएर त्यहाँको एउटा कार्यालय र स्थानीय वासस्थानमा असर परेको समाचारमा जनाइएको छ । खोजी तथा उद्धार कार्यकालागि अग्नीनियन्त्रकहरु र अन्य उद्धारकर्ताहरु परिचालित भएका छन् । शनिबार अन्य २०० जना त्यस क्षेत्रमा पुग्ने अपेक्षा गरिएको छ ।