धरान – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियन दूतावासबाट भिसा पाएका कामदारलाई श्रम स्वीकृति दिने निर्णय गरेको छ ।

मन्त्रालयको निर्णयअनुसार वैदेशिक रोजगार विभागले काठमाडौंस्थित मलेसियन दूतावासले राहदानी लिई भिसा उपलब्ध गराएपछि २० जनाले वैदेशिक रोजगारबाट श्रमस्वीकृति लिएका छन् ।

मलेसियासँगको श्रम सम्झौतापछि पहिलो पटक २० जना नेपाली कामदारले मलेसिया जाने अनुमति पाएको वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिप चापागाईंले बताए ।

अब विभागले दूतावासले नामावली पठाए श्रमस्वीकृति दिनेछ । गत कात्तिक १२ गते नेपाल र मलेसियाबीच द्विपक्षीय श्रमसम्झौता भएको थियो । गत जेठ २ गतेदेखि मलेसिया जाने कामदारको श्रमस्वीकृति रोकिएको थियो ।

हाल वैदेशिक रोजगार व्यवसायीबाट मलेसिया जानेहरूका लागि भने यो सुविधा प्राप्त भएको छैन । मन्त्रालयले कलिङ भिसा पाएकालाई समेत दूताबासबाट भिसा उपलब्ध गराउन मलेसियालाई अनुरोध गरेको छ ।

हाल १० हजार कामदारले कलिङ भिसा पाएको वैदेशिक रोजगार व्यवसायी सङ्घको तथ्याङ्क छ । यसैबीच  सरकारले मलेसियाका लागि म्यानपावर कम्पनीमार्फत कलिङ भिसा प्राप्त गरेका सबै कामदारको विस्तृत विवरण माग गरेको छ । 

malaysia-Maag