जिरोपोइन्ट /  युवा पुस्ताले अत्यधिक रुचाएको नेपाली बजारमा धेरै बिक्रि हुन सफल सुविन भट्टराईको उपन्यास “समर लभ”मा आधारीत चलचित्र “समर लभ”यहि माघ २५ गतेबाट देशैभर प्रदर्शन हुने भएको छ ।
प्रेमिल जोडीको आधुनिक प्रेम र रोमान्समा आधारित चलचित्र “समर लभ”का प्रमोसन टिम देश दौडाहका क्रममा आईतबार धरानमा पत्रकार सम्मेलन गरेका छन् ।
नयाँ ब्यानर नाइटिङ्गल इन्टरटेन्मेन्टको ब्यानरमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले “समर लभ” तयार पारेका हुन् । चलचित्रमा उपन्यासलाई न्याय दिलाउन पुर्ण रूपमा प्रयास गरिएको आईतबार धरानमा सम्पन्न पत्रकार सम्मेलनमा बताइएको छ ।
चलचित्रमा सोपन सरकार र मनोज वीके सह–निर्माताको रुपमा छन् भने लाइन निर्माता एकराज तामाङ रहेका छन् । विनोद अधिकारी चलचित्रका कार्यकारी निर्माता हुन् ।
मुस्कान ढकालको निर्देशन रहेको चलचित्रमा सायाको भूमिकामा नव नायिका रेवती क्षेत्री र अतितको भूमिकामा नव–नायक आशिष पिया रहेका छन् । त्यस्तै चलचित्रमा नायिका नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिकको साथमा सुरजसिंह ठकुरीको मुख्य भूमिका देख्न सकिन्छ । मानकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा अर्जुन जीसीको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।