पथरी/‘शहीद रत्नकुमार बान्तवा प्रथम राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता–२०७५’ को उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले बुद्धिचाल खेलको विकासमा प्रदेश–१ सरकारले ध्यान पुर्याउने बताएका छन् ।

यो बौद्धिक खेल भएको उल्लेख गर्दै मुख्यमन्त्री राईले दुस्साहष पूर्ण निर्णय गर्दा हुने क्षति र होसियारी अपनाउँदा पुग्ने फाइदाका बारे बुद्धिचाल खेलले ज्ञान दिने बताए । उनले बुद्धिचाल खेलको विकासका लागि सम्बन्धित संस्थासँग छलफल गर्ने बताए ।

कार्यक्रममा नेपाल बुद्धिचाल सङ्घका केन्द्रका एकलाल श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासङ्घ प्रदेश–१ समितिका मुख्य सचिव तिलकप्रसाद राईलगायतले खेल सफलताको शुभकामना दिए । क्लबका अध्यक्ष अमिर राईको सभापतित्वमा भएको कार्यक्रममा खेल संयोजक अर्जुन जम्नेली राईले स्वागत मन्तव्य राखेका थिए ।

खेल उद्घाटन सभामा पथरीका सामाजिक व्यक्तित्व तथा बुद्धिचाल खेलाडी ईश्वर आँशु मगरलाई मरणोपरान्त सम्मान गरिएको थियो । मगरकी पत्नी रमिला थापा मगरलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णकुमारी राई, पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिप राई, उपप्रमुख यमुना विष्ट, कानेपोखारी गाउँपालिका प्रमुख ताराबहादुर काफ्लेलगायतको उपस्थिति रहेको थियो । खेलको उद्घाटन मुख्यमन्त्री शेरधन राई र कार्यक्रमको मुख्य प्रायोजक एभरेष्ट बोर्डिङ स्कुलका सञ्चालक रविन कन्दङ्वाले बुद्धिचालको गोटी चालेर उद्घाटन गरेका थिए ।

खेल पाँच दिनसम्म चल्ने आयोजक समितिका सदस्य सागर साम्बाले बताए । खेलमा पहिलो, दोस्रो, तेस्रो हुने खेलाडीलाई क्रमशः नगद ५०, ४०, ३० हजार पुरस्कार प्रदान गरिने आयोजकले बताएका छन् । खेलमा १५ औं स्थानसम्म हुने र अन्य विभिन्न टाइटल गरी ३९ जनालाई नगदसहित पुरस्कारको व्यवस्था गरिएको क्लबका अध्यक्ष अमिर राईले बताए । प्रतियोगितामा देशभरबाट एक सय ३५ जना खेलाडी सहभागी रहेका छन् ।

प्रतियोगितामा फिडे मास्टर (एफ.एम.) रिजेन्द्र राजभण्डारी, विमन फिडे मास्टर (डब्लू. एफ.एम.) सुजना लोहनी, क्यान्डिडेट मास्टरहरू कृष्ण थापा, भूपेन्द्र निरौला, नवीन तन्दुकारलगायतका खेलाडीहरू भिडिरहेका छन् ।