इनरुवा/ सुनसरीको इनरुवामा सम्पन्न मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभूवन आर्मी क्लबले जितेको छ । इनरुवा खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबलाई ८३ रनले पराजित गर्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो ।

जितका लागि २ सय ५० रनको लक्ष्य दिएको त्रिभूवन आर्मीले नेपाल पुलिस क्लबलाई १ सय ६६ रनमा अलआउट पार्दै उपाधि हात पारेको छ । विजेता टोली त्रिभूवन आर्मीले नगद ४ लाख १ हजारसहित ट्रफी हात पारेको छ । उपाधि चुम्नबाट चुकेको पुलिसले उपविजेता भएपछि नगद २ लाख १ हजार प्राप्त गरेको छ ।

खेल अवलोकनका लागि इनरुवा पुगेका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले विजेता टोलीसहितलाई पुरस्कार वितरण गरे।  यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको त्रिभूवन आर्मीका खेलाडी निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २ सय ४९ रनमा आउट हुन पुगेका थिए । ।

आर्मीका लागि राजेश पुलामीले अर्धशतकीय पारी खेल्दा कुशल मल्ल भने अर्धशतक बनाउनबाट १ रनले चुकेका थिए । टिमका लागि पुलामीले ६९ रन बनाउँदा मल्लले ४९ रन बनाएका थिए । पुलिसका दीपेश श्रेष्ठले ३ तथा रामनरेश गिरीले २ विकेट लिएका थिए ।

विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपाल पुलिस क्लबले केवल १ सय ६६ रन मात्र जोड्न सक्यो । ४२ दशमलव ५ ओभरमा अलआउट भएको पुलिसका लागि योगेन्द्रसिंह कार्कीले ५१ रन जोडे पनि जितका लागि पर्याप्त भने हुन सकेन । पुलिसका हिमांशु दत्तले २९ र अमित श्रेष्ठले २५ रनको पारी खेले ।

पुलिसलाई सस्तैमा समेट्दै टिमका लागि जित दिलाउन आर्मीका सहाब आलम र कुशल मल्लले समान ३–३ विकेट चट्काए । फाइनल खेलको म्यान अफ द म्याच आर्मीका कुशल मल्ल घोषित हुँदा प्रतियोगितामा अनुशासित टिम भने प्रदेश–७ बन्न सफल भएको छ ।

बेस्ट बलर पुलिसका सागर ढकाल घोषित भएको प्रतियोगिताको बेस्ट ब्याट्सम्यान आर्मीका भीम सार्की बनेका छन् । ढकाल र सार्कीले नगद २० हजार १ सय प्राप्त गरेका छन् । प्रतियोगिता भर उत्कृष्ट खेलको प्रदर्शन गरेका पुलिसका दिलिप नाथ म्यान अफ द सिरिज चुनिएका छन् ।

उनले नगद ५१ हजार राशि हात पारेका छन् । त्यसैगरी उदयीमान खेलाडी इनरुवाका सरोज बस्नेत घोषित भए । विभिन्न विधामा उत्कृष्ट ठहरिएकालाई नेकपाका नेता भीम आचार्य र इनरुवाका नगर प्रमुख राजन मेहताले सम्मान गरेका थिए ।