अहा, चराहरूको संसार!
चिर्बिर चिर्बिर, तिनका गीत,
मान्छे धनले डढेका,
स्वार्थ उनले पढेका,
स्वतन्त्रता चरीको आवाज,
जिन्दगीको सर्वस्व
पङ्ख, गला र प्राकृती कला,
शब्दशब्दहरू कवितामय,
बुझ्नुहुन्छ महाशय तिनको भाषा?
हो, आज म चरीकान्त भाषाको सुन्दर लयोमा उड्दैछु । पन्छीका सार्वभौम सौन्दर्यको कलात्मक साधारणीकरणबाट तिनका जीवनका घामहरू उदाउँछन् र अस्ताउँछन् । हामी मौसमी रमिते आँखामा खुसी पोको पारेर ओझेल पर्छौं, तर पन्छी थाक्दैनन् । अविश्रान्त तिनका कर्मतन्त्री हातहरू पन्छीलोकमा रमाइरहन्छन् । उनको आराधना र उपासना नै कला बनेको छ । हामी आवरण मात्रै देख्छौं, उनका मुटुका आँखाले विहगायती गति मापेको कति कति!
पन्छी अर्थात् जीवनाथ पोख्रेल । उपनामबाट चिनिने अधिकांश मान्छे उपनामानुरूपी कामबाट चिनिएका न्यून नै होलान् । पन्छी पोख्रेल भिन्न मान्छेजस्ता । वाद(विवाद, झन्डा(वितण्डा, महल(धुरी(बरन्डा उनका सपना बनेनन् सायद । हामी भानुभक्तको छायामा उभिएर कविताको पहाड कल्पन्छौं । देवकोटा, लेखनाथ र समहरूका आकृति हेरेर साहित्यको वक्ररेखा गम्छौं । राजनीतिको संक्रामक विकारले ग्रस्त वर्तमानमा हामी यस्को समग्र स्वरूप नै विकृत मान्छौं । अर्थात् हामी विवेकभन्दा बढी प्रभाव र दृश्यलाई आधार मानिरहेछौं । यसै परिवेशमा विहङ्ग(संसारलाई जीवनको साधना(शम्बल बनाएर हिमशिर बनेका स्रष्टा जीवनाथ पोख्रेल ‘पन्छी’ सार्थकनामा बनेको यथार्थ हामी सबैका लागि प्रेरक सन्दर्भ बनेको कुरा उठाउँदैछु म आज । तीनबीस कटेका स्रष्टा पोख्रेलको आदर्श भन्नु नै पक्षी र तिनको स्वतन्त्र प्राकृतिक संसार हो, जसलाई उनी उपनामले सजाउन रमाउँछन् । उनका यौव वयदेखि वर्तमानसम्मका काव्यिक भावनाहरू समेटिएका कविताहरूको सुन्दर मालिका हाम्रासामु आएको छ ‘पन्छी’ बनेर । संक्षेपमा पन्छीका कुरा गर्नु छ यस आलेखमा ।
क. पन्छीमा के छ ?
पन्छीमा कवि जीवनाथको जीवनको छाया छ र छ देशको माया । २०२४ सालदेखि २०७१ सम्म आफूले रचना गरेका विविध प्रकृति र प्रवृत्तिका कविताहरूको रङ्गदार माला बनाएका छन् यो कृतिलाई उनले । पन्छी साँच्चै डाँफेभन्दा पनि अधिक बहुरङ्गवयी छ । उमेर, परिवेश, जीवनयात्रा र समाजका साथ जीवनप्रतिको दृष्टिकोणको क्रमिक परिपक्वता हाम्रो जीवनका आयाम हुन् । कवि पन्छी पनि यही समाजको विविध खाले परिवर्तनका साक्षी बनेका छन् जुन साक्ष्य भावनाले धोएर, मन(मुटुको रङ्गमा चोपेर सौन्दर्यबोधका साथ प्रस्तुत कृतिमा कविताका भिन्न स्वादका साथ उनिएका छन् ।
०२४ को श्रावणको सृजना ‘भरियाको जीवन’सँगै उडेका कवि पन्छी ०७१ को ‘वातावरण र चरा’मा पुगेर विश्राम लिन्छन् कृतिमा । उमेरको जोस र जाँगरले समाजको परिवर्तनको लागि जुटेको साहस तथा केही गरेरै छोड्ने आँट ऊबेलाका रचनाहरूमा देखिन्छ भने जीवनको उत्तरार्धका अधिकांश कविताहरू सुधारचेतसँगै प्रकृति र समाज परिवेशमा केन्द्रित छन् ।
ख.पन्छीको लय
लयसंयोजनका दृष्टिले पनि पन्छी रङ्गीन छ । प्रचलित शास्त्रीय छन्दको फूलबारीमा अनुष्टुप्, उपजाति, शिखरिणी, शार्दूल, स्रग्विणी, पञ्चचामर आदि लयपुष्पहरू ढकमक्क छन् भने लोकछन्द र मुक्तछन्दहरूका केही थुँगा पनि यहाँ फुलेकै छन् । तीनदर्जनबढी कविताका फूलहरूको मालाले पन्छी साँच्चै सुन्दर बनेको छ । पन्छीको आवाज वा लयको सन्दर्भ पनि नवतापूर्ण सरगमले युक्त छ ।
ग.पन्छीको बोलीको भाका
प्रवृत्तिगत रूपमा हेर्दा यस सङ्ग्रहमा समेटिएका कविताहरू नेपाली समाजका कतिपय राजनैतिक, समाजिक परिवर्तनको आधार बोल्ने आँतसहितका छन् । एउटा लामो कालखण्डलाई आफ्नो जीवनको संघर्षपूर्ण यात्रामा जोडेर कविले सामयिक परिवेशलाई सुन्दरताको कार्चोपीमा राखेर अनुभूतिका बिम्बले सिँगारेर पाठकसमक्ष सुम्पिएका छन् । यस कृतिका कविताहरूले कवि पोख्रेललाई जीवनभर स्वाभिमानका साथ बाँचेको साहसी कलमीको रूपमा चिनाएका छन् । उनी कसैको दास बनेर बाँच्नभन्दा भोकै बस्न रुचाउँछन् । उनीभित्रको आत्मसम्मानचेतले माटो, पानी, सिमाना र नेपालीको अस्तित्व तथा नेपालको सार्वभौमताप्रति गर्व गर्दछ शब्दशब्दमा । यो कवि पन्छीको कलासँगै जोडिएको आस्थाको सुन्दर परिचय हो, जुन प्रस्तुत कृतिको मूल सम्प्रेष्य कथ्य पनि हो ।
मूलतः पन्छीका बोलीमा मैले निम्न प्रवृत्तिगत भाका अनुभव गरेको छु ः
१. सांस्कृतिक रूपान्तरणको अपेक्षा
२ कर्ममा आस्था र आस्थाको धर्म
३. माटोप्रतिको समर्पणभाव
४. प्रकृतिप्रति अनन्त मोह
५. विकृतिमाथि हस्तक्षेप
६. नयाँ पुस्तामा भरोसा
७. जीवनमा विश्वास र आशावादिता
८. उज्यालोप्रति आस्था
पूर्वोक्त सूत्रहरूको चौघेरे आयाममा मात्र केन्द्रित छैनन् कवि पन्छी । उनका हात, आँखा र मुटु कलाको सृजनामा अहोरात्र संयोजित छन् । यत्ति अवश्य हो कि यौववयदेखि आजसम्म पनि उनको कर्ममाथिको आस्था र विश्वासको सगरमाथा सधैं चुलिएकै छ ।
सांस्कृतिक रूपान्तरणमा उनको भावना हामी कतिपयका लागि अलि बढी नै होला सायद, तर कलाकार मुटुले देखेको बोल्छ नि,
पर्दैन श्राद्ध नै गर्नु मरेको दिन हो भनी
श्रद्धा मात्र भए हुन्छ, सम्झना मात्रले पनि ।।
मृत्यु पछि सबै फोस्रो भक्ति भाव गरे पनि
बाँचुञ्जेल गरे हेला नर्कको यातना सही ।।
.... .... .... ....
सच्चा सन्तान ती ठान, श्रद्धा गरे सधंैभरि
मरे पछि त्यही श्राद्ध हुन्छ सम्झेर नै पनि ।। (श्रद्धा नै श्राद्ध हो )
उनी एक आदर्श शिक्षक भएर कर्ममा आस्था र संगठित शक्तिमा विश्वासको सुन्दर दृष्टान्त प्रस्तुत गर्छन् । इतिहासका तीता सन्दर्भहरू पनि नढाँटी राख्ने पन्छी पञ्चायती निरङ्कुशताको कालिमापूर्ण परिवेशको काव्यिक चित्रमा पनि सफल देखिन्छन् । माटोको माया कवि पोख्रेलको रोजाइ हो, उनी स्वर्गभन्दा पनि नेपाललाई उच्चा देख्छन्, यही हो आमाको भक्ति, ः
स्वर्गभन्दा कमी छैन मेरो देश कसैगरी
त्यसैले जन्मने इच्छा छ यसैमा घरीघरी ।। (इच्छा)
देशप्रेम भावनाको विषय मात्र हैन भन्ने ठानेरै उनी नवपुस्तालाई यसबारे उद्बोधन गराउँदै भन्छन्, ः
फुटेर देश बन्दैन, सबै नै जुट्नु पर्दछ
एक ढिक्को बने हामी, यो देश स्वर्ग बन्दछ ।। (हाम्रो देश)
कविको भरोसा वनयुवाहरूमा छ । उनी तिनका काँधमा देश राखेर भोलिको उज्यालोप्रति आश्वस्त छन्, ः
देश सङ्कटमा पर्न आँट्यो युवक हो उठ !
युवा हो देशकै निम्ति जे जति छौ सबै जुट !!
... ... ... ...
आँटे ठूला ठूला डाँडा सम्म नै पार्न सक्दछौ
ठूला भेल अनि आँधीसँग जुध्ने छ हिम्मत ।। (युवा आव्हान)
कवि पन्छीका कविताले समयका पीडा र प्राप्ति दुबै पक्षहरू समेटेका छन् । विवेकको बोलीमा सत्यको स्पर्श छ,
पढी मानिस क्वै हुन्न विवेक नभएपछि
किताबी ज्ञानले मात्र पुग्दैन त्यो सधैंभरि ।। (ज्ञान)
सामाजिक विकृतिहरूमाथि उनको प्रहार केन्द्रित छ । उनी सधैं गरीखाने वर्गलाई आदर गर्दछन् । वनेलु जीवनका सुन्दरता र वातावरणीय सन्तुलन मानव समाजका निम्ति अपरिहार्य छन् भन्ने उनको ठहर छ । कर्मवाद उनको धर्म हो । लोभीपापीहरू उनका दृष्टिमा सधैं बिझाउने गर्दछन् ।
आलोचना मात्र गर्ने तर आफू स्वयं चाहिँ सिन्कोसम्म नभाँच्ने कुरापन्थीहरू मिलेर काम गरौं है भन्ने उनका यी मीठा र मायालु सन्देशले खुरुक्क काममा निहुरिन्छन् कि,ः
यहाँको अशिक्षा, गरीबी हटाऊँ
अँध्यारो हटाई उज्यालो बनाऊँ ।
गरौं काम आफ्ना बुताले सकेको
लगाऊँ सबै ज्ञान जो जे भएको ।। (मेल गरौं)
आधुनिक शिक्षापद्दतिका काला पाटाहरू, चाकरीप्रवृत्तिको हैंजा र बढ्दो आडम्बरी जीवनशैलीमाथि कवि पन्छीको तिर्यक् दृष्टि निकै मर्मस्पर्शी लाग्छ । पन्छी बोकेर आदर्श, पन्छीका स्वतन्त्रता र स्वच्छन्द जीवनाधिकारको पक्षमा अनि तिनको विनाशसँगै बिग्रँदो पर्यावरणको अत्याश लाग्दो सन्दर्भमा कवि जीवनाथको कलम खुलेर बोल्छ, तर तीतो यथार्थ । उनी कटु सत्य खोल्छन् कविताको शैलीमा, तर लाग्छ यति सहज कि हामीसँग कवि हैन स्वयं पन्छी भन्दैछ यसो, ः
चरा विनाशको जरो मनुष्य मात्र एक हो
गरेन ख्याल यो कुरा मनुष्य स्वार्थमा डुव्यो । (वातावरण र चरा)
घ. उडून् दुबै पन्छी ः सफलताको आकाशमा
भनिन्छ नि उमेरले मात्र पाक्दैन मान्छे । उमेरले बसीखाने भएकाहरू पनि कमजोर विवेकका थुप्रै मान्छे देखिरहेकै छौं । ज्येष्ठ नागरिकहरूका अनुभवको सम्मान विशिष्ट विषय हो । केशले मात्र पनि पाक्दैन मान्छे । केशप्रमाणका त म र हामी कतिपय दसी बनेकै छौं । तर, उमेर र केश दुबैले परिपक्व पन्छी कवि मूर्तामूर्त कलाका आयामसँगै शब्दसामथ्र्यमा पनि हिमालजस्तै उचो बनेका छन् । समाजलाई मूर्त कलामा उतार्ने शिल्पीका हातहरू आँखा, मुटु र मस्तिष्कसँगै अद्भूत बिम्ब बनाउँछन् र सरलताका साथ हाम्रासामु उपस्थापित गर्छन् । हो, कवि जीवनाथले पनि ‘पन्छी’ कृतिको निर्माणमा जीवनका थुप्रै वसन्तहरू साक्षी बनाएका छन् । सरलता र सहजता उनको प्रस्तुतिको विशेषता हो भने समाज, मान्छे र प्रकृति उनका काव्यविषयाधारहरू हुन् ।
जीवनका उकाली ओरालीमा अनुभूत वैयक्तिक विषय सन्दर्भलाई समाज सापेक्ष बनाएर कलापूर्ण शैलीमा पस्कने कवि पोख्रेल निराशाले भन्दा आशावादिता र भोलिप्रतिको विश्वासले प्रेरित हुन चाहन्छन् । जीवनवादी चेतना उनको अभीष्ट हो । कतिपय ठाउँमा अतिसरलता र शब्दचयनगत सन्दर्भलाई नै उनका कमजोरी मानिएलान् अनि कतिपय तत्सम शब्दप्रयोगबाहुल्य नै दोष देखिएला । छन्दको कठोर बन्धनमा कताकति देखिएको स्खलन र शब्दचयनको असावधानी ०७२ बैशाखको भूकम्प होइन भन्ने मेरो धारणा हो । काम गर्नेकै मात्र त देखिने हुन् कमजोरी । यी स्वाभाविक र अनियोजित ससाना पक्षबाहेक कविको केशजस्तै पन्छीको आन्तरिक र बाह्य सौन्दर्य टलक्क टल्केकै छ ।
यस कृतिका अधिकांश कवितामा अभिव्यक्त अन्याय, जातीय विभेद, कुसंस्कारहरूको समूल समापनबाट मात्र सामाजिक रूपान्तरण सम्भव छ भन्ने कवि जीवनाथको आदर्शले उनलाई माक्र्सवादी सौन्दर्यचेतनाले अभिप्रेरित स्रष्टाको रूपमा स्थापित गरेको छ । ज्ञान, वय र अनुभवले समेत अग्रज हामी सबैका प्रिय स्रष्टा कवि पन्छी तथा सुन्दर कविताहरूको संयोजनबाट जीवन पाएको उनको काव्यिक प्रस्तुति नूतनरङ्गी पन्छी सार्थकनामा बनेको छ ।