विराटनगर/ संखुवासभाको मकालु र चिचिला गाउँपालिका स्थित निर्माणधीन राष्ट्रिय गौरबको बहुचर्चित परियोजना ‘अरुण तेस्रो जलविद्युत् आयोजना’ को काम तिव्र रुपमा अगाडी बढेको छ ।
सन् २०२२ सम्ममा ९ सय मेगावाटको जलविद्युत् उत्पादन शुरु गर्ने लक्ष्यको साथ निमार्ण कार्य तिव्र रुपमा अगाडी बढाएको हो ।

जलविद्युत आयोजना निर्माण शुरु भएको ९ महिनाको अवधिमा १५ प्रतिशत काम पुरा भएको भारतको ठेकेदार कम्पनी सतलज हाइड्राेका कार्यकारी निर्देशक सतिशकुमार शर्माले जानकारी दिए । कम्पनीले मकालु गाउँपालिका-५ को दोभान र चिचिला गाउँपालिका-३ दिदिङबाट एकै पटक निर्माणको कामलाई अगाडि बढाएको छ ।

दोभानमा उच्च बाँध निर्माण गरी सुरङ्गमार्गबाट ११ दशमलव ७ किलोमिटरको दूरीमा रहेको दिदिङमा बन्ने पावर हाउससम्म पानी ल्याइने बताइएको छ । जसका लागि चार स्थानबाट सहायक सुरुङ खन्ने काम थालिएकोे कम्पनीका कार्यकारी निर्देशक शर्माले बताए ।

मुख्य सुरुङसम्म पुग्नका लागि दोभानमा निर्माण भइरहेको प्रवेश सुरुङ मार्गको ५ सय ९ मिटर लम्बाइमध्ये ३ सय ४७ मिटरको काम सकिएको छ । ४ वटा प्रवेश सुरुङको काम सकिएसँगै एकैपटक आठ स्थानबाट मुख्य सुरुङ मार्गको काम थालिने भएको छ । एक पटक ब्लाष्ट गर्दा ३ मिटरसम्म सुरुङ खन्ने गरेको शर्माले बताए ।

बाँध (ड्याम) निर्माणस्थल दोभानमा अरुण नदी डाइभर्सन गर्न ३ सय ९३ मिटर दूरीको सुरुङ निर्माणको कामले समेत गति लिएको छ । बाँध निर्माणका लागि खनिएको डाइभर्सन सुरुङको ६५ मिटर काम सकिएको निमार्ण कम्पनीले जनाएको छ ।

‘सन २०२२ सम्ममा निमार्ण पूरा गर्ने सम्झौता भएको छ,’ प्रमुख कार्यकारी निर्देशक शर्माले भने, ‘तोकिएको समयमा अरुणबाट बिजुली निकालिसक्ने छौं । बाँध क्षेत्रमा पनि धमाधम काम भइरहेको छ ।’ बाँध क्षेत्रबाट सुरुङ मार्गको काम पनि तीव्र गतिमा अगाडी बढेको उनले बताए । ‘पावर हाउसम्म पानी पुर्याउन सुरुङ ११ दशमलब ७ किलोमिटर निर्माण गर्नुपर्नेछ,’ उनले भने, ‘अहिले काम अघि बढदैछ ।’

छ्याङकुटीबाट विद्युत् गृहसम्म एक महीना अघि कच्ची सडक पुगिसकेको छ । सन् २०२२ मा बिजुली उत्पादन गर्ने लक्ष्य लिएको सतलजले निर्माणको काम अब नरोकि तिव्र रुपमा अगाडी बढाउने जनाएको छ । पावर हाउस निर्माण हुने दिदिङसम्म पुग्नका लागि च्याङकुटीदेखि २८ दशमलव ६ किलोमिटर दूरीको सडक आयोजनाले निर्माण गरिसकेको छ ।

सडक निर्माणसँगै पावर हाउस निर्माणस्थलको कामले गति लिएको छ । च्याङकुटीदेखि पावरहाउसम्म सडक पुर्याउन मात्र एक सय करोड रुपैयाँ बजेट पहिलो चरणमा बिनायोजन गरेको छ । अहिले अरुण तेस्रो आयोजना क्षेत्रमा २४ सै घण्टा काम भइरहेको छ ।

ड्यामसाइड क्षेत्रमा भारतीय जय प्रकाश एसोसियटस निर्माण कम्पनीले काम गरिरहेको छ भने पावर हाउस निर्माण क्षेत्रमा भारतकै पटेल इन्जिनियरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम अगाडि बढाइरहेको छ ।

सात जिल्लाहुँदै प्रशारण लाइन लगिने
सङखसुवा, भोजपुर, खोटाङ हुँदै साँत वटा जिल्ला हुँदै प्रशारण लाइन भारतर्फ लगिने भएको छ । प्रशारण लाइनमा निर्माण गरिने ५ सय १ वटा टावर लाग्ने निमार्ण कम्पिनीले जनाएको छ । २०४२ सालदेखि चर्चा चलेकको भए पनि राजनीतिक विवादका कारण ९०० मेगावाटको यो राष्टिूय गौरवको परियोजना पटक पटक स्थगित हुँदै आएको थियो ।

चर्चा पाएको २२ वर्षपछि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उक्त आयोजनाको शिलान्यास गरेपछि निमार्ण तिव्र रुपमा अगाडी बढेको हो । गत वैशाख २९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले परियोजनाको शिलान्यास गरेका थिए । आयोजनाको कूल लागत १ खर्ब ४ अर्ब रूपियाँ रहेको बताइएको छ ।

कामले गति लिएपछि स्थानिय हर्षित
राष्टिूय गौरबको बहुचर्चित परियोजना ‘अरुण तेस्रो जलविद्युत् आयोजना’ को काम तिव्र रुपमा अगाडी बढेपछि स्थानिय हर्षित भएका छन् । कामले गति लिएपछि जिल्लाको विकास निर्माणमा नयाँ आयाम थपिने विश्वास स्थानीयवासीले गरेका छन् ।

‘अरुण तेस्रो आयोजनाकोे कामको गति निक्कै अघि बढेको छ,’ मकालु गाउँपालिका-५ की स्थानिय सिमा पराजुलीले भनिन्, ‘बाँधस्थलबाट विद्युत् गृह जाने सुरुङको काम भइरहेको छ । तोकिएको समयमै काम सकिने छनक देखियो ।’ सम्झौता भएको मितिमा काम सकिए यहाँका स्थानिय अरुणमा उत्पादन भएको बिजुली छिट्टै बाल्न पाउने आश जागेको उनको भनाई छ ।

अहिले पनि उक्त क्षेत्रका बासिन्दा सोलारको धिपधिपे उज्यालोमै छन् । अरुण प्रभावित क्षेत्रका स्थानीयवासीले अझैसम्म केन्द्रीय प्रसारण लाइनको बिजुली बाल्न पाएका छैनन । टुकी र सोलरको भरमा रात कटाउनु परेकाे यहाँको स्थानिय बताउँछन् ।