धरान / जमराको जुसबारे केहि डाक्टरहरुको फरक बिचार आएपनि पछिल्लो समयमा नेपालमा पनि जमराको जुसको माग बढ्दो छ । विश्वका अधिकाशं मानिसहरु नसर्ने रोगले ग्रसित भएको बेला स्वास्थबारे नेपाली समाज पहिलेको तुलनामा अहिले धेरैनै सचेत भइरहेका छन् । 
 
 धरान ७ मेन्यांबो हिममा अर्गानिक जमरा हाउस सञ्चालन गरिरहेकी योग साधक समुहकी अध्यक्ष तथा समाजसेवी शवनम सुब्बाको जमराको जुसबारे अनुभव फरक छ । भारतको हरिद्वारमा भ्रमणको शिलशिलामा जादा एक दशक पहिलेनै जमाराको बारेमा सुनेर देखेर आएकी थिइन् । 
 
तर यसबारे चासो नलिएकी सुब्बाले दुई वर्ष पहिले जमराको जुस नेपालमा अलि अलि सुरु हुदै गर्दा उनले पनि घरमा सामान्य तरिकाबाट आफैले जमारा उमारेर प्रयोगमा ल्याइन् ,तर त्यसबाट खासै फाइदा पुगेजस्तो उनलाई लागेन । 
 
औषधीको रुपमा प्रयोग गर्न त्यसको पनि छुट्टै उमार्ने विधि हुन्छ । उमार्ने सहि तरिका सिकेर उनले पुःण आफैले प्रयोग गर्न थालिन् । सहि विधि प्रयोग गरि उमारेको जमराले सोचे भन्दा धेरै राम्रो नतिजा आएको उनको अनुभव छ ।   
 
जमराको जुसले स्वाथ्यमा भएदेखिएका रोगहरु वा समस्याहरु कम हुने थाहापाए पछि ६ महिनासम्म  उनले आफै बोजु र घरभित्रका परिवारमा मात्र प्रयोगमा ल्याइन् । अनि मात्र व्यवसाय सुरु गरिन् । धरानमा जमाराको जुस ३० मिलिको तीस रुपैयामा बेच्ने गर्छिन् । 
 जमराको जुसको व्यवसायबाट सबै खर्च कटाएर मासिक १२ देखि १५ हजारसम्म बचत हुने सुब्बा बताउछिन् । 
 
छिमेकी अखण्ड पोख्रेलकी ३ वर्षे छोरी धारणा पोख्रेल जो दम रोगले ग्रसित छिन् । सुब्बाले उमारेर बनाएको जुसको सेवन गर्ने दैनिक प्रयोगकर्ता भइन् । दैनिक कम्तिमा पनि ३० मिली लिटर जमराको जुस लिदै आएकी छिन् । 
 
पहिले बालिकाले दमलाई नियन्त्रण गर्न अस्थालिन र फराकट दैनिक लिन्थिन् । जब जमराको जुस पिउन थालिन् उनलाई त्यसको आवश्यक परेन । तर केहि समय छुटाउदा भने उनलाई फेरी विमारले च्याप्न सुरु गरेको उनका बुबा अखण्डले बताए ।  त्यस्तै धरान ३ की कोलेस्टेल र सुगरकी बिमारी प्रतिभा श्रेष्ठ पनि जमराको जुस नियमित सेवन र्गछिन् । जुसले केहि राहत आफुलाइ मिलेको श्रेष्ठले सुनाइन् ।   
 
जमाराको जुसको प्रयोगले ग्रास्टिक, पाईल्स, उच्चरक्त चाप, सुगर , अनिद्रा लगायतका समस्याहरुलाई कम हुने अर्गानिक जमरा हाउसका सञ्चालक सुब्बा बताउछिन् ।  
 
जमरा उमार्दा माटो, मल र सरसफाइमा विशेष विचार पुर्याउनु पर्ने सुब्बा बताउछिन् । सहि तरिकाले सुद्द र चोखो भएमा मात्र जमाराको जुसले शरिरमा सकारात्मक नतिजा दिने उनले बताइन् । 

खाद्यतत्वमा हुने फाइबरले शरीरमा नकारात्मक असर पर्ने सामान्य कार्बोहाइड्रेड, बोसो लगायतका पदार्थलाई सोस्ने काम गर्दछ् । जमराको जुसको पनि यस्तै उपयोगिता रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाह बताउँछन् ।

जमराको जुस सेवन गर्नुका बेफाइदा नभए पनि गुणस्तरीय जुस पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ । यो जुस पिउनुभन्दा अघि डाक्टरको सल्लाह लिएर नियमित सेवन गर्न चिकित्सकहरु स्वयम् सुझाव दिन्छन् ।