पूर्वी नेपालको सुनसरी जिल्लामा अवस्थित धरान शहरीकरणको ईतिहासमा अग्रपङ्तिमा रहेको शहरहरु मध्येको एक हो । समुद्री सतह देखि ११४७ फिट उचाइमा महाभारत पहाडी शृंखलाको फेदमा लमतन्नै सुतेको फाँटको न्यानो मौसमले भनौँ वा स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका सेवा सुविधाले गर्दा पूर्वी नेपालको लोकप्रिय आवासीय नगरको रुपमा परिचित छ ।

धरान  विजयपुर, भेडेटार, चिन्डेडाँडा, विष्णुपादुका, चारकोशे वन क्षेत्रका सामुदायिक पार्कहरु लगायतका विभिन्न ऐतिहाँसिक धार्मीक तथा प्राकृतिक मनोरम स्थलहरु घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको कारण पर्यटनको हिसाबले पनि धेरैको गन्तब्य बन्न सफल धरान व्यापारिक केन्द्रको रुपमा पनि चिनिएको छ ।

विभिन्न जातजातिका मानिसहरुको बसोबास रहिआएको धरानको जनसंख्या करीब १,२०,००० र क्षेत्ररुल १९३ बर्ग किलोमिटर रहेको छ । धरानको लोकप्रियता सँगसँगै यहाँको जनसंख्या पनि दिन दिनै बढिरहेको छ ।

बिस्तारै जनसंख्याको आधारमा धरान महानगरको रुपमा विस्तारित हुँदैछ तर क्षेत्ररुल र जनसंख्याको हिसाबले विस्तारित हुँदै गरेता पनि महानगरको रुपमा व्यवस्थित रुपले बिकसित हुन सकिरहेको छैन ।

त्यसो हुनुको मुख्य कारण हो भानुचोक केन्द्रित सिमित बजार र भानु चोक भित्र रहेको साँघुरो, अव्यवस्थित र असुरक्षित बस पार्क १ आज भन्दा २०-२५ वर्ष पहिलेको जनसंख्यालाई पुग्नेसम्मको मात्रै बजार क्षेत्र र त्यति बेलाको लागि मात्रै पर्याप्त बस पार्क अहिलेको जनसंख्याको लागि पर्याप्त छैन ।

आन्तरिक र बाहिरी पर्यटकहरुको गन्तब्य स्थल मानिने धरानमा अहिले पर्यटकहरु आउन चाहदैनन् किनकी बजार क्षेत्रमा मोटर लिएर छिर्न सक्ने स्थिति छैन । किनमेल गर्नका लागि पार्किंगको कुनै सुविधा छैन ।

भानु चोकको पसलमा किनमेल गर्न चाहने ग्राहकले ५०० मिटर माथि कलेज रोड पुर्याएर आफ्नो सवारी रोक्नु पर्ने अनि हिँडेर भानु चोक आउनु पर्ने अवस्था छ ।

बजार क्षेत्रमा कुनै प्रकारको सडक सुरक्षा सम्बन्धि चिन्हहरु छैनन्, बाटोक्रस गर्न जेब्राक्रस छैन, व्यवस्थित बस पार्कको अभावले धरान दिन दिनै कुरूप, अव्यवस्थित र असुरक्षित बन्दै गैरहेको छ । पहिले जस्तो सर्दु र सेउती बीचको क्षेत्रमा मात्रै सिमित नरहेर अब त धरान पूर्वमा चोक्टी-शतिसाले, पश्चिममा पटनाली, उत्तरमा बिष्णु पादुका भेडेटार र दक्षीणमा चारकोशे बन क्षेत्रसम्म फैलिएको छ ।

सम्पूर्ण धरानको आवश्यकतालाई पूरा गर्न सक्ने बजार एक दुई वटा चोकमा सिमित नबनाएर विस्तारित र बृहत बजारको खाँचो छ भन्ने नबुझ्नु सम्बन्धित निकाय तथा स्थानीय राजनीतिक अगुवाहरुको कमजोरी हो ।

उहिल्यैको पाराले सोचिराखेर वैज्ञानिक सोच बिचार र योजना नल्याउनुले नै अन्य सहरको दाँजोमा धरान पछि परिरहेको छ ।

धरान उपमहानगरपालिकाले हालको बसपार्कलाई भानु चोकबाट हटाएर धरान-८ स्थित रेडियो स्टेशन छेउमा स्थानान्तरण गर्ने योजनाको कुरा धेरै समय अघि देखि चलाउँदै आएको भएता पनि काम हुन सकेको छैन ।

उक्त स्थानमा उपमहा नगरपालिकाको स्वामित्वमा रहेको केही जग्गामा समेत व्यक्तिको दाबि दावा रहनु र कति जग्गा व्यक्तिहरुको नीजि जग्गा हो र कति नगरपालिकाको स्वामित्वको सरकारी जग्गा हो भन्ने कुरामा स्पष्ट सिमाङ्कन नहुनु जस्ता कारणहरुले समेत उक्त निर्धारित स्थानमा बसपार्क निर्माण गर्न सकिएको छैन ।

यस्तो बेलामा उपमहानगरपालिकाले व्यवस्थित बसपार्क निर्माणमा अन्य दुईवटा विकल्पहरु रोज्न सक्छ। (१) धरान-८ तीनकुने वनको क्षेत्र र (२) धरान-१७ सत्परंगी पार्क अगाडिको खालि क्षेत्र १ लाई बनको इजाजत लिएर बसपार्क निर्माण गर्न सके कुनै किसिमको व्यक्तिगत नीजि सम्पत्ति अधिकरण गर्न नपर्ने, मुद्दा मामिला र बिरोधको सामना गर्न नपर्ने हुन्छ ।

त्यहाँ बसपार्क निर्माण भए शहर धेरै हद सम्म प्रदुषण मुक्त रहन सक्नेछ । तीन कुनेमा सम्भव नभए धरान-१७ स्थित सप्तरंगी पार्कको अगाडिको उपमहानगर पालिकाको सार्वजानिक जग्गामा बसपार्क निर्माण गरेर व्यवस्थित गर्न सकिन्छ ।

यसरी भानु चोकमा रहेको खचाखच भीड बसपार्कलाई शहरको अन्यत्र स्थानान्तरण गर्न सके सवारी साधन दुर्घटना न्यूनीकरण, वातावारणीय, पर्यावरणीय सुधार तथा बजार विकेन्द्रीकरण गरी धरानको समुन्नत विकास गर्न सकिन्छ ।

भानु चोक केन्द्रीत साँघुरो समिति बजारले सम्पूर्ण धरानको आवश्यकता टार्न सक्दैन त्यसैले बसपार्क सारिनु पर्दछ र साथै वित्तीय संस्था, डिलर, होल सेलर, होटेल, सुनचाँदी, लत्ता कपडा र किरानाका मुख्य दोकानहरु रेल्वे, पानबारि, जिरो पोइन्ट, घोपा क्याम्प, बरगाछी, मंगलबारे लगायतका ठाउँहरुमा पनि बिस्तारित हुनु पर्दछ ।

यसो गर्न सके भानु चोक क्षेत्रको भीडभाड कम हुन सक्दछ र आत्तेस लाग्ने ट्राफिक जामको समस्या धेरै हद सम्म घटेर जान्छ । यसरी बिकासको विकेन्द्रीकरण गर्न सके शहरको सबै ठाउँमा सन्तुलित बिकास गर्न सकिन्छ ।

धरानको बजार क्षेत्रलाई व्यवस्थित बनाउन सके पर्यटकहरु आकर्षित हुनेछन् । धरान आइपुग्ने बित्तिकै अस्तव्यस्त बसपार्कको आत्तेस लाग्दो भीडभाड देखे पछि नव-आगन्तुकहरु असुरक्षित महशुष गर्ने गरेको पाइन्छ ।

बसपार्क स्थानान्तरण गर्न सके पर्यटकहरुलाई आकर्षित गरी धरानको आयस्रोत पनि बढाउन सकिन्छ ।

बसपार्क अन्यत्रै सार्दा बजार सुक्छ भन्ने संकीर्ण सोचले गर्दा पनि बसपार्कलाई भानुचोकमै राखिराख्नु पर्छ भन्ने मान्यता केही स्थानीय व्यापारीहरुमा पाइन्छ । त्यसरी बुझ्नेहरुले काठमाडौँको न्युरोडलाइनलाई हेर्दा हुन्छ । त्यहाँ कुनै बसपार्क छैन तर त्यो लाइन नै राजधानीको मुख्य बजार बन्न सकेको छ ।

ठ्याकै त्यस्तै किसिमको बुझाइ आवश्यक छ यहाँ पनि । यदी धरानलाई साँच्ची कै महानगर बनाउने हो भने । हाम्रै छिमेकी शहर इटहरीलाई हेर्दा पनि हुन्छ । बजारको बीचमा नरहेर बजार क्षेत्र भन्दा बाहिर राखेर इटहरीले आफ्नो बसपार्कलाई व्यवस्थित गर्न सकेको छ । जबसम्म संकीर्ण सोच बिचार पालेर बसिन्छ तबसम्म हाम्रो योजनाहरु पनि संकीर्ण नै रहने गर्दछ ।

धरानका राजनीतिक अगुवाहरु र सम्बन्धित पक्षले धरानलाई कत्रो र कस्तो सहर बनाउने हो भन्ने बारेमा देश भित्र र देश बाहिरका अन्य विकसित शहरहरुको भ्रमण, अवलोकन र खोज-अध्ययन गर्न पनि अति आवश्यक देखिन्छ ।

विश्वजगतलाई बुझ्न सक्ने, दिगो विकासका दुरदर्शी योजनाहरु बनाउन सक्ने, जनताको जनधनको क्षती नगरी लोकप्रिय विकासको अवधारणा ल्याउन सक्ने क्षमता राख्नु पर्दछ अगुवाहरुले ।

नेपालकै नाम चलेको शहरहरुको पहिलो पंक्तिमा पर्ने धरानका अगुवाहरु सोच बृहत बन्न सक्नु पर्दछ । केही वर्ष अघि देखि धरान उपमहानगरपालिकाले गर्न खोजेको प्रायस् सबै योजनाहरुमा जनताको असहमति र विरोध देखिन थालेकोछ ।

निरङ्कुश शैलीमा जनताका नीजि सम्पत्ति अधिकरण गरेर, विरोध र मुद्दा मामिलाको सामना गर्दै विकास योजना बनाउनु भन्दा विकल्प खोलेर दिर्घकालिन योजना सहितको विकास कार्य गर्न सक्नु पर्दछ अबको नेतृत्वले ।

जनादेशलाई शिरोधार्य गरेर जनभावना अनुसार दीर्घकालीन विकास निर्माणमा बढ्नु पर्छ अब धरान, अरुले हेर्दा लाज मर्दो लथालिंगै अवस्थामा बसिरहनु हुन्न ।

वरिपरि रिंगरोड सहितको बृहत नगरको रुपमा धरानलाई विस्तारित र विकसित गर्न सम्बन्धित निकाय, जनप्रतिनिधि, नागरिक समाज, संघ-संस्था लगायत स्थानीय सर्वसधारण जनता सबै मिलेर सबैको सहभागितामा विकास निर्माण कार्यहरु सम्पन्न गरिनु पर्दछ ।

धरानको बृहत्तर विकासमा निश्चित व्यक्तिहरुको मात्रै हालीमुहाली रहने परिपाटीको अन्त्य गर्नु पर्दछ । विकास सबैको लागि हो भने सबैको त्यसमा चासो र सहभागिता पनि रहनै पर्दछ । धरानको बृहत्तर विकासको लागि धरानबासीहरुको सहमति र सहभागिता हुनै पर्दछ ।

जय धरान! जय धरानबासी !!

धरान–१८