भाइबहिनी हो, आज हामीले ३८ वर्ष त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसहरूमा अध्यापक गरिसकेका सहप्राध्यापक तथा साहित्यकार शरणकुमार राईको कथा भन्ने प्रयास गरेका छौं । २००४ चैत्र २४ गते जन्मिएका राईको पाठशाला शिक्षाको प्रारम्भ कसरी भयो त ? उनकै शैलीमा ।

भोजपुरको छिनामखु गाउँबाट २० मिनेटको उकाली–ओराली हिँडाइ पछि त्रिभुवन धर्मोदय प्राथमिक पाठशाला आइपुग्थ्यो । बाजे र बुबाको प्रेरणाले नै सानै उमेरमा स्कुल जाने वातावरण मिल्यो । बाजे ऊ बेला प्रहरीको हवल्दार पदमा कार्यरत भएकाले काइते अक्षर लेख्नुहुन्थ्यो । पढाउनुपर्छ भन्ने बाजेमा चेत थियो । बुबा ७ वर्ष पल्टन लाहुरमा बसेको र नेपालमा रक्षा दलमा क्लर्क भएर बसेकाले छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतना विकास भएको थियो । ५–६ वर्षको उमेरदेखि नै पाठशाला जान थालियो । घरमै बनाएको काठको पाटीमा रङ्ग पोतेर स्कुल लान्थ्यौं ।

लेख्नका लागि चुन ढुङ्गा हुन्थ्यो । त्यसैमा क, ख, ए बी, सी, डी सिकियो । सानै कक्षादेखि अङ्ग्रेजी पढाउने चलन थियो । कक्षा ३ सम्म आइपुग्दा त राम्ररी नै अक्षर फुटाउने भइन्थ्यो । कक्षा २ सम्म गाउँकै पाठशालामा पढियो । आर्थिक कारणले होला, स्कुल बन्द भयो केही समय । त्यसपछि मावली गाउँ दिल्पामा गएर ६–७ महिना पढे । त्यो बेलामा गाउँमा मेरो बुबा र गणेश रसिकको बुबाले राजा महेन्द्र गाउँमा सवार भएका बेला भेटेर बिन्तीपत्र चढाउनु भएछ । २०१३ सालदेखि फेरि स्कुल चल्न थाल्यो । मावलबाट फर्किएर गाउँमै फेरि कक्षा ७ सम्म पढेँ । स्कुलमा भारतको दार्जिलिङबाट ३ जना शिक्षकहरू आएका थिए । उनीहरू हाम्रै घरमा बसेर पढाउँथे । त्यही सरहरूबाटै मैले पहिलो पटक नङ काट्न सिके । नङ काट्नु पर्ने भन्ने ज्ञान उहाँहरूबाटै पाए । हामी त्यो बेला महिनौं महिनासम्म नुहाउन्न थियौं । सरहरूले नै एक महिनामा एक पटक खोलामा लगेर ढुङ्गाले मिचिमिची हामीलाई नुहाइदिनुहुन्थ्यो । कालैमैलो भएर स्कुल जान्थ्यौं । अनुहार पनि फुस्रै हुन्थ्यो । स्कुल जादा सफासुग्घर भएर जानुपर्छ भन्ने ज्ञान पनि सरहरूबाटै पायौं ।

स्कुलले वर्षमा एक पटक साहित्यिक गोष्ठी गराउथ्यो । त्यो गोष्ठीमा मैले पनि एउटा कविता लेखेको थिए । कक्षा २ मा पढ्थे । मेरो कविता प्रथम हुन्छ भन्ने मलाइ लागेको थियो । तर म दोस्रो भए । त्यसपछि ममा खिन्नता अनुभव भयो कि मैले पुरस्कारको लागि साहित्य लेख्दिन भन्ने भयो । अहिलेसम्म पनि प्रतियोगितामा भाग लिइन । यदी मैले साहित्य छाडेको भए आज म यो अवस्थामा हुने थिइन । पुरस्कारको लागि काम गर्ने होइन । देशका लागि, उन्नत समाजका लागि काम गर्ने हो, पुरस्कार नपाए पनि निराश हुनुहुदैन भन्ने लाग्यो । त्यही कारण अहिलेसम्म पनि मैले प्रतियोगितामा भाग लिएको छैन ।

स्कुलमा पनि म सोझो विद्यार्थी नै थिए । जसरी गोष्ठीमा म दोस्रो भए, पढाइमा पनि म कहिल्यै प्रथम हुन सकिन । दोस्रो मात्रै भए । स्कुलमा कहिल्यै कुटाइ खाएको याद छैन । सुदो विद्यार्थी भएकाले कहिल्यै पनि गुरुहरूलाई ठाडो शीर पारेर हेर्न पनि नसक्ने । एक पटक फूपू नरदेवी राईलाई कुटेको याद छ । त्यो अहिले पनि भुल्न सक्दिन । हामी एउटै कक्षामा पढ्थ्यौं । पढ्दा उहाँ र मेरो झगडा भयो । मैले बक्सिङ हानिदिए । मेरो बक्सिङको कारण उहाँको आँखा सुन्नियो । फुपूले यो बाटो हिड्लास् म बाजेलाई भनिदिन्छु भनेर भन्नुभयो । बाजे एकदमै खतरा हुनुहुन्थो । त्यो बाटो एक महिनासम्म हिडिन । घुमेर ३०–३५ मिनेटको बाटो भएर स्कुल जान थाले । एक महिनासम्म कसैले केही नभनेपछि फेरि छोटो बाटो नै जान थाले । फुपूले बाजेलाई केही पनि भन्नुभएनछ भन्ने मलाइ लाग्यो ।

त्यो घटना अहिले पनि बिर्सिन सक्दिन । पछि त्यही फुपूले धरान पढ्न झर्दा एक–एक रुपैयाँको ६ वटा सिक्का दिनुभएको थियो । कक्षा ७ पछि केही टाढाको बुद्धोदय माविमा पढ्न थाले । त्यहाँ कक्षा ८ सम्म मात्रै पढेँ । त्यसपछि ९ र १० धरानको पब्लिक स्कुलमा पढेँ । धरानमा गाडी, घोडा देखिन्छ भनेर भन्दा आफूलाई पनि जाउ–जाउ हुने । पछि आमालाई भनेर म पनि धरान नै झरे । मामाहरूको घरमा बसेर पढ्न थाले । २०२१ सालमा एसएलसी दिनुपर्ने । तर, मन बहकिएर होला । त्यो वर्ष मैले परीक्षा दिइन । २०२२ सालमा मात्रै एसएलसी दिए । २०२१ सालको सेन्टअप परीक्षामा म स्कुलको थर्ड विद्यार्थी भएको थिए । बुबाआमा नभएकाले पनि होला डर नहुने । मामामाइजुले माया गर्नुहुन्थ्यो । २०२२ सालमा एसएलसी पास गरेपछि आइए पढ्न पनि एक वर्ष ढिला भयो । आइएस्सी त्यो बेला धरानमा थिएन । विराटनगर जानु पर्ने । एक जना साथी पनि आइएस्सी पढ्न आउँछु भन्थ्यो । उसैलाई कुर्न थालियो । कुर्दाकुर्दै फर्म भर्ने म्याद पनि सकिएछ । त्यतिकै भयो । पछि बुभ्mदा ऊ बितेछ ।

एक वर्षपछि महेन्द्र बहुमुखी क्याम्पस धरानमै मानविकी सङ्काय लिएर पढ्न थालियो । आइए र बिए धरानमै गरियो । एमए चाहिँ त्रिभुवन विश्वविद्यालय काठमाडौंमै गएर पढियो । एमए सकेपछि मात्रै मैले जागिर खान थाले । काठमाडौंमा पशुपति शमशेर जवराको आर्थिक विकास प्रशासन केन्द्र (सेडा) भन्ने संस्था थियो । त्यसमा चौध महिना जागिर खाए । त्यसपछि गर्ने म भएन । घर फर्किने सुरमा थिए । त्रिविमा एकजना पार्थीवउत्सव तिमल्सिना भने डिन हुनुहुन्थ्यो । उहाँले एक दिन बाटोमा भेटेर मलाई रत्नराज्य लक्ष्मीमा अर्थशास्त्रको शिक्षक खाँचो छ । त्यहाँ गएर पढाइदेउ । भोली नै गएर नियुक्त पत्र लिने, अनि पढाउन शुरु गरिदेउ भनेर भन्नुभयो । मैले पनि सेडा छाडेपछि के गरौं कसौं गरौं भन्ने भइरहेको थियो । ठिकै छ एकवर्ष जागिर खान्छु त्यसपछि अन्यतिर सोच्छु भन्ने भयो । तर त्यहाँ जोडिए पछि जोडिएको जोडिए भए । २०३१ सालमा प्रवेश गरेको २०३९ सालमा स्थायी भएँ । २०६४ सालमा अवकास लिए । ३८ वर्ष पढाए । पछि राजीनामा दिएर अवकाश लिए ।

मेरो परिवार लाहुरसँगै जोडिएका थिए । तर म चाहिँ लाहुरमा लाग्ने सोच नै आएन । सायद २ कक्षामा पढ्दा आमाको बहिनीले त चाहिँ भर्ती लाग्दैनस् भनेकाले होला । मेरो देब्रे खुट्टाको माइली औला केही ठूलो थियो । मेरो खुट्टा देखेरै होला सानिआमाहरूले मलाई ‘तँ भर्ती लाग्दैनस् होला विस्मत नमान्नु । पढाइमा ध्यान दिइस् भने भर्ती लाग्नै पर्दैन’ भनेर भन्नुभएको थियो । त्यसपछि कहिल्यै मेरो मनमा भर्ती हुनेतिर ध्यान आएन । बिए नपढिञ्जेलसम्म मायाप्रेम पनि गर्दिन, विहे पनि गर्दिन भनेर कसम नै खाएको थिए । सानिमाहरूले त्यसो नभनेको भए सायद भर्ती जाने सोच हुन्थ्यो होला ।

सानोमा लेखेको एउटा लघु नाटक अहिले पनि मेरो मानसपटलमा बसिरहेको छ । त्यो संरक्षण गर्न सकिँन । गौतम बुद्ध भन्ने शीर्षकको नाटक लेखेको थिए । अहिले भएको भए उत्कृष्ट बाल नाटक हुन्थ्यो होला । बुबा रक्षा दलमा क्लर्क भएकाले पनि होला त्यो बेला मेरो घरमा एक वर्षमा एक पटक काठमाडौंबाट मदनमणि दीक्षितहरूले पुस्तक पठाइदिनुहुन्थ्यो । त्यो पुस्तकको कथा, कविता, चित्र हेरेर पनि साहित्यतिर झुकाव भएको होला । मेरो अहिले ७ वटाभन्दा बढी पुस्तकहरू प्रकाशित भएका छन् । एउटा इन्टरनेटमा उडान मन शीर्षकको उपन्यास प्रकाशित गरेको छु ।

हालसम्म धेरै पुरस्कारहरू त प्राप्त गरेको छैन । २०७१ सालमा भानु पत्रिकाले उत्कृष्ट कथा भनेर सम्मानित गरेको थियो । पहिलो पटक २०२२ सलमा ओखलढुङ्गाबाट प्रकाशित ‘दैलो’ भन्ने पत्रिकामा ‘भ्रम’ शीर्षकको कविता प्रकाशित भएको थियो । छापिए पनि त्यो कविता अहिलेसम्म मैले प्राप्त गर्न सकेको छैन । गणेश रसिक र म आफैँ भएर हस्तलिखित ‘चोइटा’ भन्ने साहित्यिक पत्रिका प्रकाशित गरेका थियौं । साहित्यकै कारणले आज म यहाँ छु ।

साहित्यबाट उन्नत समाजको परिकल्पना गरिरहेका राई जीवनको उत्तराद्र्ध पनि साहित्य लेखिरहने प्रण गरेका छन् । उनी साहित्य पुरस्कारका लागि होइन्, जीवनका लागि लेख्नुपर्ने सुझाउँछन् । उनले ‘कुपी’ (मट्टितेलको साहारामा कपडा तथा सनपाटको सलेदोमार्फत् बल्ने बत्ति) को साहाराले शिक्षा लिएका थिए । अहिलेका नानीहरूले विजुली बत्तिबाट पढ्ने अवसर पाएका छन् । प्रविधिले शिक्षाको स्तरलाई पनि बढाइ दिएको छ । अहिले अवसर धेरै छ । त्यो बेला पढ्न चुनौती थियो । अहिले पढ्न सहज छ । उनलाई यस्तै लाग्छ । यसलाई सदुपयोग मात्रै गर्न सके सबैका लागि फाइदा पुग्ने उनको भनाइ छ ।