राजविराज । हतियारधारी एक समूहले सप्तरीमा प्रहरी हबल्दारमाथि गोली प्रहार गरेर फरार भएको छ ।

मोटरसाइकलमा आएका २ जनाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी हबल्दार महेन्द्रप्रताप यादवलाई गोली हानी फरार भएका हुन् । खडक नगरपालिका–८ विशनपुर चोकमा ड्युटीमा रहेका यादवलाई साँझ साढे आठ गोली प्रहार गरिएको हो ।

गोली प्रहार गरेर उनीहरू बोदेबरसाइन बजारतर्फ भागेको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए । हतियारधारी समूहले प्रयोग गरेको मोटरसाइकलको नम्बरको खुलेको छैन ।

गोली प्रहारबाट घाइते हबल्दार यादवलाई तत्कालै उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको छ । घटनाको जिम्मेवारी प्रगतिशील तराई मुक्ति मोर्चाका सेनापति निशानले लिएका छन् । घटनास्थलमा मोर्चाको पर्चासमेत भेटिएको छ ।