धरान / विवादका कारण १७ वर्ष देखि स्थगित बनेको धरानको सुन्दर बस्ती विकास आयोजनाले मूर्तता पाउने भएको छ ।  २०५८ सालमा आयोजना थाले पनि विवादका कारण स्थगित भएको १७ वर्षपछि आयोजनाले मूर्तता पाउने भएको हो ।

यही माघ २७ गते ‘स्मार्ट बसपार्क’ को शिलान्यास हुँदै छ । पुष २७ गते धरान उपमहानगरको कार्यपालिका बैठकले माघ २७ गते बसपार्क निर्माणको शिलान्यास गर्ने निर्णय पारित गरेपछि बसपार्कले मूर्तता पाउने भएको हो ।

धरानको भानुचौकको बसपार्क अस्तव्यस्त बनेपछि तात्कालीन नगर प्रमुख मनोजकुमार मेन्याङ्बोको अगुवाइमा बसपार्क बनाउनका लागि ‘सुन्दर बस्ती विकास आयोजना’ नाम दिएर शुरु गरिएको थियो ।

तर, तात्कालीन समयमा ८६ जना स्थानीयबासीहरूसँग निःशुल्क लिएको जग्गामा धरान नगरका कर्मचारीले आफ्ना आफन्तको नाममा जग्गा खरिद गरेपछि आयोजना रोकिएको थियो ।

पूर्व मेयर मेन्याङ्बोले रोकिनुलाई राजनीतिक मुद्दा र कर्मचारीले आफन्तका नाममा जग्गा खरिद गरेका कारणले विवाद उत्पन्न भएको मान्दै आएका छन् ।

त्यो बेलामा बसपार्कको लागि भनेर स्थानीय उपभोक्तासँग जग्गा अधिग्रहण गर्दा जग्गाधनीको ३६ दशमलव ३१ प्रतिशत योगदान दिने भनिए तापनि ५४ प्रतिशतसम्म जग्गा काटिएपछि बखेडा शुरु भएको थियो ।

विवाद उत्पन्न भएपछि २०५९ असार ५ गते नगरपालिका बोर्डले रोक्का गर्ने निर्णय गरेको थियो ।

तर, निर्णय भएकै अवस्थामा २०६२ जेठ १२ गते, २०६२ कै फागुन ५ र २५ गते नपाका कर्मचारीहरूले आफ्ना-आफन्तको नाममा जग्गा किनेका थिए । यसरी बोर्डले गरेको निर्णय लत्याउँदै जग्गा किनेपछि समस्या थप चुलिएको थियो ।

बस्ती विकासका लागि १३ विगाहा ५ का १९ धुर जग्गामध्ये बसपार्कको लागि ढेड विगाहा मात्रै छुट्याइएको थियो । जसमा बसपार्क बन्न सक्दैन भन्ने निश्कर्षसहित जग्गादाता तथा स्थानीयबासीले ‘पीडित जग्गाधनी सङ्घर्ष समिति’ नै गठन गरेर आन्दोलन थालेका थिए ।

तर, उक्त सङ्घर्ष समितिका पदाधिकारी, जग्गादाताका सरोकारवाला पक्ष, बस व्यवसायी सम्मिलित एक टोलीलाई ‘बसपार्कले दिने आर्थिकलगायतको सुविधाको अध्ययन अवलोकन गराउने’ कार्यपालिकाको बैठकमा निर्णय भएपछि शिलान्यासको चरणमा पुगेको कार्यबाहक नगर प्रमुख तथा १५ नम्बर वडा समितिका अध्यक्ष नरेश इवारामले बताए ।

त्यो टोली बुधबार भारतको सिक्किमतर्फ प्रस्थान गरेको छ । इवारामका अनुसार सिक्किमको मुख्य बसपार्कको अध्ययन गरेर फर्किएपछि के–कसरी अगाडि बढाउन सकिन्छ भन्ने छलफल गर्दै डीपीआर तयार पारिने छ ।

‘माघ २७ गते स्मार्ट बसपार्कको शिलान्यास गर्ने कार्यापालिकाबाट निर्णय भएको छ’-उनले फोनसम्पर्कमा भने । बसपार्कमा अण्डरग्राउण्ड पार्किङ, मुख्य फ्लोरमा गाडी आवातजावत, माथिल्लो तलामा कुरुवा घरलगायतको डिजाइनिङको तयारी भइरहेको छ । ‘डीपीआर शुरु हुँदैछ ।’ उनले भने ।

नगरका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार पोखरेलले प्रभावित सरोकारवालाहरूलाई बसपार्कले दिने आर्थिक सुविधा र ‘कन्फ्युजन’ हटाउने उद्देश्यले नै अध्ययन अवलोकन गराइने निर्णय गरिएको बताए ।

बसपार्कको बजेट फ्रिज हुने अवस्थामा
प्रदेश १ सरकारले असार १ गते गरेको बजेट भाषणमा धरानको बसपार्कका लागि एक करोड बजेट विनियोजन गरेको थियो । तर, बजेट विनियोजन भएको करिब ६ महिना बितिसक्दा पनि योजना अघि बढ्ने सङ्केत नदेखिँदा फ्रिज हुने अवस्थामा पुगेको छ । ‘बजेट फ्रिज भएर जान आँटेकाले बनाउने तयारी अघि बढेको हो ।’ कार्यबाहक मेयर इवाराम भन्छन् ।

बजेट फ्रिज हुन नदिनका लागि पनि अहिले धरान उपमहानगर तातेको हो । धरान उपमहानगरको कार्यपालिकाको बैठकले यसलाई टुङ्ग्याएको दाबी गरेको छ ।

जम्बो टोली सिक्किम
भौगोलिक बनावट धरान र सिक्किमबीच एकरूपता भएकाले पनि त्यहाँको मुख्य बसपार्कको अध्ययन अवलोकन गर्न धरान नगरपालिकाको जम्बो टोली बुधबार सिक्किमतर्फ प्रस्थान गरेको छ ।

टोलीमा उपमेयर मञ्जु भण्डारी सुवेदीसहित जग्गादाता, यातायात व्यवसायी, नगरपालिकाका कर्मचारीसहित १२ जना कलाकारको टोली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

कार्यबाहक मेयर नरेश इवारामका अनुसार सिक्किमको बसपार्कसहित धरान र सिक्किमबीचको भगिनी सम्बन्ध कायम गर्ने उद्देश्यले कलाकारको टोलीसहित सिक्किम गएका हुन् ।

उनले एउटै कामका लागि मात्रै त्यतिका धेरै प्रतिनिधिहरू नगएको प्रष्टाउँदै भगिनी सम्बन्ध पनि भएकाले २५ देखि ३० जनाको टोली त्यसतर्फ गएको बताए ।

धरानको टोली सिक्किमको निमन्त्रणमा गएको हो । जसका लागि धरान उपमहानगरको पर्यटन प्रवद्र्धनको ३ लाख ४० हजार रुपैयाँ बजेटसमेत निकासा गरिएको नगरपालिका स्रोत बताउँछ ।

कार्यबाहक प्रमुख इवारामले भने, ‘उतैको निमन्त्रणमा टोली गएको हो । यहाँबाट नगरपालिकाको गाडीहरू लगिएको छ । यातायात व्यवसायी आफ्नै गाडीमा गएका छन् । पैसा लगेको विषयमा मलाई जानकारी भएन ।’ उनले उक्त रकम विलासितामा खर्च नभई उपलब्धीका लागि नै खर्च हुने दाबी गरे ।