राजविराज / उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि सगरमाथा अञ्चल अस्पताल राजविराजमा बिरामीका आफन्तले प्रदर्शन गरेका छन्।

सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारीका ४० वर्षीय सहदेव सदाको बिहान ७ बजे उपचारका क्रममा मृत्यु भएको थियो। चिसो लागेकाले बिहान ४ बजे अस्पताल ल्याइए पनि चिकित्सकले लापरबाही गरेको आरोप लगाउँदै आफन्तले विरोध गरेका छन् ।

उनको सलाइन चढाएपछि मृत्यु भएको आफन्तले बताएका छन् । अस्पतालबाहिर जम्मा भएका मृतकका आफन्तले नाराबाजी गर्दै स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामासमेत माग गरेका थिए । स्थिति नियन्त्रणमा लिन डिएसपी भावेश रिमालको कमान्डमा अस्पतालमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

छानविन गर्ने सहमति पछि जारी प्रदर्शन स्थगित

यसैबीच घटनाको छानविन गर्ने र शवको पोष्टमार्टम धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गराउने सहमति पछि प्रर्दशन भने रोकिएको छ ।

घटनाको छानविनका लागि निमित्त मेसु डा. रञ्जित झा, वडा अध्यक्ष समिर झा, नागरिक सञ्जालका अध्यक्ष सुखराम यादव, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादव, पार्थो सरकारलगायतको ५ सदस्यीय छानविन समिति गठन भएको छ । उपचारमा कमजोरी भएको फेला परे संलग्न स्वास्थ्यकर्मीहरुलाई कारवाही गर्ने सहमति भएको निमित्त मेसु झाले जानकारी दिए ।

चिसोका कारण सिकिस्त भएका सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारीका ४० वर्षीय सहदेव सदाको बिहान ७ बजे मृत्यु भभएको थियो । हाइपोथर्मिया (शरीर चिस्सिएको) अवस्थामा सदालाई अस्पताल भर्ना गरिएको र उपचारका सबै प्रक्रया सुरु भइसकेपछि मृत्यु भएको अस्पतालले जनाएको छ ।