पथरी / मोरङको पथरीशनिश्चरे नगरमा हुन लागेको राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिताको उद्घाटन प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले गर्ने भएका छन् ।  पथरीमा माघ–५ देखि ९ गतेसम्म राष्ट्रव्यापी ‘शहीद रत्नकुमार वान्तावा प्रथम राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल’ प्रतियोगिता हुँदैछ ।

प्रतियोगितामा बुद्धिचालका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली, पूर्व च्याम्प्स केशव श्रेष्ठ, सुरवीर लामा, मनिष हमाललगायत देशभरबाट सय बढी सहभागी हुने आयोजक फ्रेण्डसीप चेस क्लबका अध्यक्ष अमिर राईले बताए ।

खेलको उद्घाटन मुख्यमन्त्री शेरधन राईले गर्ने निश्चित भएको प्रतियोगिताको खेल संयोजक अर्जुन जम्नेली राईले बताए ।

स्वीस लिगको आधारमा हुने प्रतियोगिताको विजेतालाई ५० हजार, उपविजेतालाई ४० हजारलगायतका क्रमशः ३९ जनालाई पुरस्कृत गरिने आयोजक समितिका सचिव लोकसागर साम्बाले बताए ।