बेइजिङ / चीनको एउटा कोइलाखानीमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २१ जना पुगेको छ । 

अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार चीनको उत्तरी साङ्सी प्रान्तको एक कोइला खानीमा जमिनमुनि ८७ जना कार्यरत रहेका बेला शनिबार दिउँसो उक्त दुर्घटना भएको थियो । दुर्घटनालगत्तै पुरिएकाको उद्धार थालिएको थियो ।

खानीमा हराएका दुई जनालाई आइतबार बिहान मृत अवस्थामा भेटिएको स्थानीय अधिकारीहरुले बताएका छन् । अन्य ६६ जनालाई भने कोइलाखानीबाट सकुशल उद्धार गरिएको अधिकारीहरुलाई उद्धृत गर्दै चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।

निजी कम्पनी बाइजी माइनिङद्वारा सञ्चालित खानीमा भएको उक्त दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको छ । पर्याप्त सुरक्षा व्यवस्थाको अभावमा चीनमा कोइलाखानीमा यस्ता दुर्घटना बेलाबेलामा भइरहने गरेका छन् ।

ठूला सरकारी उद्योगको तुलनामा निजी क्षेत्रबाट सञ्चालित कोइला उद्योगमा सुरक्षा व्यवस्था कमजोर रहने गरेको छ ।  कोइला उत्पादनमा सुधार ल्याउन तथा गैर कानुनी उद्योगहरु बन्द गर्न पहल गरिए पनि खानी दुर्घटनाका समाचारहरु आइरहने गरेका छन् ।

गत वर्ष डिसेम्बरमा पनि चीनको दक्षिण पश्चिममा भएको कोइला खानी दुर्घटनामा सात जना कामदारको मृत्यु हुनुका साथै अरु तीन जना गम्भीर घाइते भएका थिए ।

चीनको राष्ट्रिय कोइला खानी सुरक्षा प्रशासनका अनुसार सन् २०१७ मा कोइला खानीमा कार्यरत तीन सय ७५ जनाको मृत्यु भएको थियो । अघिल्लो वर्षको तुलनामा यो करिब २८ प्रतिशतले न्यून हो ।