पथरी/ सङ्घीय कानून मन्त्री भानुभक्त ढकालले प्रदेश सरकारको गौरवको योजना अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा आदिवासी जनजाति सङ्ग्रहालय बन्ने बताएका छन् ।

शनिबार मोरङको पथरीशनिश्चरे–१ मा कार्यकर्ता भेटघाटको कार्यक्रममा मन्त्री ढकालले चुनावमा बोलेको कुरा पुनः दोहोर्याएका हुन् । मोरङ–३ नम्बर क्षेत्रमा चुनाव लड्ने क्रममा ढकालले आफूले जितेमा सो क्षेत्रमा आदिवासी जनजाति सङ्ग्रहालय बनाउने पटकपटक प्रतिबद्धता जनाएका थिए ।

चुनावी सभामा किरात राई समुदायको साकेला, लिम्बूको च्याब्रुङलगायत आदिवासी जनजातिको गीत तथा नृत्य प्रयोग भएको थियो ।

प्रदेश सरकारले जातीय सङ्ग्रहालयका लागि भन्दै ५० लाख रकम विनियोजन गरेको छ । सम्भाव्यता अध्ययनका लागि चण्डीप्रसाद राईको संयोजकत्वमा १७ सदस्यीय कार्यदलसमेत गठन भइसकेको छ ।

भुटानी शरणार्थी बसेको खाली क्षेत्रमा केही दिन अघि प्रदेशका सामाजिक मन्त्री जीवन घिमिरे आएर सो क्षेत्रमा नक्कली पाथीभरा, वराहक्षेत्र र हलेसीसहितको तीन धाम बन्ने घोषणा गरेपछि विवाद बढेको थियो ।

सो विषयलाई लिएर स्थानीय आदिवासी जनजाति समुदायले पत्रकार सम्मेलनको आयोजना गरेर असन्तुष्ट व्यक्त गरेका थिए ।

भेटघाट कार्यक्रममै किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, गुरुङ, तामाङ, धिमाल, मगर लगायतको सामाजिक संस्थाका अगुवाले उक्त क्षेत्रमा आदिवासी जानजाति सङ्ग्रहालय नै बन्नु पर्ने भन्दै मन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाएका थिए ।

यायोक्खा मोरङ जिल्ला अध्यक्ष नवीन राईलगायतको टोलीले ज्ञापनपत्र बुझाएपछि मन्त्री ढकालले आदिवासी जनजाति सङ्ग्राहलय नै बन्ने बताउँदै नआत्तिन आग्रह गरे ।

निर्वाचनमा आफूले आदिवासी जनजाति सङ्ग्रहालय बनाउने प्रतिबद्धता गरेको स्वीकार्दै वचनबद्धता पूरा गरिने बताए । प्रदेशकै गौरवको योजनाको रूपमा आदिवासी जनजाति सङ्ग्राहलय बन्ने मन्त्री ढकालले पून दोहोर्याए ।

‘जनताको काम गरौं’
फरक प्रसङ्गमा मन्त्री ढकालले सङ्घ, प्रदेश र स्थानीय सरकार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै भएका बेला सबै लागेर विकासको काममा लाग्नुपर्ने बताए । तलदेखि माथिसम्म सङ्गठित रूपमा जनताको काम गर्नुपरेको बताए ।

सङ्घीय संसदले १६५ वटा कानून निर्माण गरेको र अब बैशाखसम्म भूमिसम्बन्धी कानून बनाएर सुकुम्वासी तथा दोहोरो स्वामित्वको जग्गाको समस्याबारे समाधान गरिने बताए ।