लहान / सिरहा सशस्त्र प्रहरीले अवैध सुनसहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाले शनिबार पत्रकार सम्मेलनमार्फत् पक्राउ गरिएको पौने दुई केजी अवैध सुनसहित तीन जनालाई सार्वजनिक गरेको हो ।
सशस्त्र प्रहरीले पक्राउ गरेकाहरुमा सिरहाको लहान नगरपालिका १९ छर्रापट्टिका ३५ वर्षीय अमिरुल खान, ४० वर्षीय मो. कयुम र मो. रियाज राइन छन् । पूर्व पश्चिम सडक अन्तर्गत गोलबजार र मिर्चैया नगरपालिकाको सीमामा पर्ने घुर्मी खोलाबाट विशेष सूचनाको आधारमा प्रहरीले शनिबार बिहान २ बजेतिर तीन जनालाई पक्राउ गरिएको एसपी ा सोमबहादुर गुरुङले जानकारी दिए ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाका प्रमुख गुरुङ्को कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले अवैध सुनसहित तीन जनालाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पक्राउ गएिका कयुम र अमिरुलको साथबाट ५०/ ५० ग्रामको दुई थान बाला तथा रियाजको साथबाट बाँकी सुन बरामद भएको जनाइएको छ ।
गुरुङ्का अनुसार पक्राउ गरिएका तीन जनासहित उनीहरु चढेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कर्पियो र पौने दुई केजी सुन थप अनुसन्धान र कारबाहीका लागि शनिबार नै सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान विभाग पठाइएको छ ।