तेह्रथुम / जिल्लाको लालिगुराँस नगरपालिकाको बसन्तपुरदेखि संखुवासभा र ताप्लेजुङ्गको संगम स्थल गुफा बजारसम्म पर्यटकको भिड लाग्न थालेको छ ।
हिउँ परेसँगै यस क्षेत्रमा आज भोली सयौं आन्तरिक पर्यटकको भिड लाग्न थालेको हो । हिउँ हेर्न र हिउँमै खेल्न आएका आन्तरिक पर्यटकले बसन्तपुर, मंगलबारे, चौकी, पाँचपोखरी गुफा, मिल्के, सुकेबजारलगायतका सडक तथा डाँडाकाँडा भरिभराउ हुने गरेका छन् । यस क्षेत्रमा बाक्लो हिउँ परेपछि स्थानीय पर्यटन तथा होटल व्यवसायीहरू निकै उत्साहित देखिएका छन् । जिल्लामा एक्कासी बढेको हिउँ पर्यटनका कारण होटलहरू अत्यधिक व्यस्त भएका गुफा बजार मकालु होटलका सञ्चालक हरि खनालले बताए । चिसो बढेसँगै आन्तरिक पर्यटक घटेका थिए । तर हिउँ परेपछि फेरी आउने क्रम बढ्न थालेको खनालको भनाई छ । सडकदेखि डाँडापाखा र जंगलसम्म नै आन्तरिक पर्यटकको चहलपहल देखेर होटल व्यवसायमा केही उत्साहित भएको उनले बताए । ं
हिउँ खेल्न र हेर्न आउनेहरूका कारण यहाँका होटल तथा लजहरू भरिभराउ भएको वसन्तपुरमा रहेको ताप्लेजुङ्ग होटलकी छिरिङ शेर्पाले बताइन । पर्याप्त होटल नहुँदा आएका सबै पर्यटकलाई बास बसाउन र ख्वाउन समस्या भएको उनको भनाइ छ ।
तीनजुरे, मिल्के र जलजले (टिएमजे) आफैं सुन्दर र पर्यटकीय आर्कषण भएको क्षेत्र हो । यहाँका प्रत्येक वर्षजसो हिउँ पर्छ । यति बाल्लो हिउँ भने यो वर्ष मात्र परेको हो । यस अघि सामान्य मात्रामा हिउँ पर्ने गरेको थियो । पूर्वी तराई तथा भारतको विहारबाट नजिकको दूरीमा रहेको टिएमजे क्षेत्रमा हिउँ खेल्न यो साता ५ हजारभन्दा बढी आन्तरिक तथा भारतीय पर्यटक आएको गुफा बजारमा रहेको दार्जिलिङ्ग होटलकी सोनाम शेर्पाले बताइन । ‘यो साता त कति धेरै मानिसहरु यहाँ आउनुभयो होटलमा राम्रो आम्दामी भयो ।’ शेर्पाले भनिन् । हिउँ खेल्न आन्तरिक पर्यटकहरू कोही जिप भाडामा लिएर, कोही मोटरसाइकल त कोही सोहि रुटमा चल्ने बसमा यात्रा गरेर आएका छन् । हिउँ र प्रकृतिसँग रमाउन, तीनजुरे डाँडामा रहेको पाथीभरा मन्दिर दर्शन गर्न, तस्बिर खिच्न, फिल्मको सुटिङ गर्न तथा घुमफिर गरेर रमाउन सयौं पर्यटक यहाँसम्म आउने गर्दछन् । हिउँमा रमाउन ठुलो संख्यामा आएका पर्यटकहरू आफुले खोजे जस्तो होटल लजहरु भने नपाएको गुनासो गर्दछन् । पटेकडाँडादेखि मिल्के जलजले क्षेत्रमा स्तरीय र पर्याप्त होटलहरू नहुँदा भने यहाँ आउने पर्यटकले बर्सेनी समस्या भोग्दै आएको पर्यटन व्यवसायी धर्मराज खड्काले बताए । यहाँका मंगलबारे, चौकी, मिल्के, गुफापोखरी, जलजले, मुडेशनिश्चरे, लसुने, तीनजुरे, पटेकडाँडा, मार्गा पोखरी, लाम पोखरी आदि पर्यटकीय सम्भावना बोकेका स्थलहरु हुन् । तीनजुरे, पटेकडाँडा, मेन्छ्यायाम डाँडा आदि स्थानबाट सूर्योदय, सूर्यास्त तथा हिमालको सुन्दर दृश्य देखिन्छ । यहाँबाट कुम्भकर्ण, मकालु, कञ्चनजंघा, सगरमाथा आदि हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । यहाँसम्म आउने पर्यटकले फर्किएर जाँदा चौंरीको छुर्पी, चिज, चौंरीको घ्यू, लेकाली फलफुलको वाईन, गुराँसको जुस, ढाका कपडा, खाँडीको कपडा, खुकुरी, लोकल कुखुरा, सुकुटी, कालो बंगुरको मासु आदि कोसेली लिएर जाने गरेका छन् ।