इनरुवा/ मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मीले विजयी शुरुवात गरेको छ । ग्रुप ‘बी’ को पहिलो खेलमा नेपाल आर्मी विजयी भएको हो ।  इनरुवा खेल मैदानमा सम्पन्न खेलमा आर्मीले प्रदेश–३ लाई १ सय १८ रनले पराजित गरेको छ ।

आर्मीले दिएको २ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश–३ ३६ दशमलव २ ओभरमा १ सय ७० रन बनाउँदै अलआउट हुन पुग्यो । प्रदेश–३ का इशान पाण्डेले ७५ रनको पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् ।

लामो समय क्रिजमा बिताएका पाण्डेसँग अन्य ब्याट्सम्यानले साझेदारी निभाउन नसक्दा एकपछि अर्को विकेट गुमाएको प्रदेश–३ फराकिलो अन्तरमा पराजित हुन पुग्यो ।

टिमका लागि आदिल खानले ३२ र जितेन्द्रसिंह ठकुरी र सोनु तामाङले समान १६–१६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् ।  प्रदेश–३ लाई सस्तैमा समेट्दै टिमका लागि सुखद शुरुवात दिलाउन ५ दशमलव २ ओभर बलिङ गरेका आर्मीका सहाब आलम एक्लैले ४ विकेट लिए । एक मेडन ओभर राखेका आलमले विपक्षीको ४ विकेट चटकाउँदा मात्र १४ रन दिए । त्यस्तै विक्रम सोब र जितेन्द्र मुखियाले २–२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पहिलो इनिङमा ५० ओभर खेल्दै ५ विकेटको क्षतिमा २ सय ८८ रन बनाएको थियो ।  आर्मीका लागि रोहित पाण्डेले नट आउट ८० रनको पारी खेले । ४९ बलको सामना गरेका पाण्डेले ६ चौका र ४ छक्का हिर्काए । त्यसैगरी आर्मीका भीम सार्कीले टिमका लागि ७१ रन जोड्दा क्याप्टेन विनोद भण्डारीले ४८ रनको पारी खेले ।

प्रदेश–३ का प्रतिस जिसी र जितेन्द्रसिंह ठकुरीले २–२ र सूर्य तामाङले १ विकेट लिएका थिए । खेलको म्यान अफ दी म्याच आर्मीका हाइस्कोरर रोहित पाण्डे घोषित भए । प्रतियोगिता अन्र्गत बुधबारको खेल आर्मी र प्रदेश–६ बीच हुने छ ।