इटहरी/ दोश्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

सोमबार अर्को विभागीय टिम नेपाल आर्मीलाइ ३–१ को सेटले पराजित गर्दै पुलिसले उपाधि उचाल्दै नगद ४ लाख रुपैयाँ हात पारेको छ । उपविजेता बनेको आर्मीले नगद २ लाख रुपैयाँसहित ट्रफी पाएको छ । पुलिसले आर्मीलाई २६–२४, २२–२५, २५–२१ र २५–१७ को सेटमा हराएको थियो ।

प्रतियोगितामा विभागीय टिम एपीएफ तेस्रो बनेको छ । उसले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो बनेको हो । एपीएफले २५–२२, २५–१६ र २६–२४ को सेटमा गण्डकीलाई हराएको हो । उसले नगद १ लाख रुपैयाँसहित ट्रफी पाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी नेपाल आर्मीका धनबहादुर भट्ट घोषित हुँदै २४ इञ्चको एलइडी टिभी प्राप्त गरे । यस्तै उत्कृष्ट स्पाइकर पुलिसका कुलबहादुर थापा, उत्कृष्ट ब्लकर पुलिसकै दिपक जोशी, उत्कृष्ट सेटर पुलिसकै एमबहादुर मगर घोषित भए ।

यस्तै उत्कृष्ट डिफेन्डर आर्मीका ईश्वर थापा र उत्कृष्ट क्विकर आर्मीकै भैरव बम घोषित भए । उत्कृष्ट प्रशिक्षक पुलिसका सरोज श्रेष्ठ भए । उनीहरूले जनही नगद ५ हजारसहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरे ।

विजयी खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्ट, बोर्ड सदस्य शम्भु आचार्य, पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रबिन नगरकोटी, एन्फा सुनसरी अध्यक्ष केशव कार्कीलगायतले पुरस्कार वितरण गरे ।

सुनसरी जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा तीन विभागीय टिमसहित ७ वटै प्रदेशका टिमहरू सहभागी बनेका थिए ।
तस्बिरः ब्लाष्ट