धरान/सायद उनी पहिलो व्यक्ति हुन् । जसले गल्फ घर प्राप्त गरे । क्याडी ब्वाइबाट एमेच्योर गल्फर बनेको वर्ष २०१४ मै सूर्य नेपाल इष्र्टन ओपन गल्फ टुरमा एमेच्योरतर्फ विजेता बनेका थिए, धरानका शुक्रबहादुर राई ।

समग्रमा उनी टप ३ मा परेका थिए । जसले प्रोफेसनल गल्फरहरूलाई पनि पछाडि पारेका थिए । त्यही वर्षबाट ‘विनर’ को ट्याग लागेका शुक्रको यात्रा जारी छ । देशविदेश गरी आठवटा उपाधि जितिसकेका छन् । गल्फका यी उम्दा एमेच्योर अहिले २१ वर्षका छन् । सन् २०१२ उनी क्याडी व्बाइमा प्रवेश गरे । घर नजिकै गल्फ कोर्ष भएकाले उनको गल्फप्रति लगाव बस्यो । स्कुल छुट्टि हुनेबित्तिकै झोला फुत्त फालेर उनी क्याडी बन्न पुग्थे । क्याडी ब्वाइ नै सही । गल्फमा प्रवेश गर्ने उत्तम खुड्किलो जो थियो । नभन्दै पहिलो वर्षमै सूर्य नेपाल इष्र्टन ओपनमा एमेच्योरतर्फ उपाधि जितेपछि यात्रा अनवरत अगाडि बढेको छ ।

बिपन्न परिवारका उनले यसै वर्ष घरसमेत पाए । उनका बुबा सामान्य ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्छन् । आम मानिसझैं दैनिक श्रम गरेर आफ्नो पेट पाल्ने शुक्रका पिता लक्ष्मण राईसँग राम्रो घर बनाउने रकम थिएन । अन्य आयश्रोत पनि थिएन । तर, गल्फकै कारण उनले घर प्राप्त गरे । उनी छोरोप्रति गर्व अनुभव गर्छन् । उनले छोरो गल्फर होला भन्ने सोचेका थिएनन् । स्कुलबाट छुट्टि लिएर क्याडी गर्न गएको देख्दा पढाइ बिर्गाने भो भन्ने सामान्य लेखपढ गर्न जान्ने बुबा लक्ष्मणलाई नलागेको होइन । उनी छोरोको पढाइ बुझ्न स्कुल पनि पुग्थे । तर, कतिपय बेला छोरो छुट्टि लिएर क्याडी ब्वाइ बनेको भेट्थे । छोरोले खेल्ने रहर गरेछ भनेर त्यसै छाडिदिन्थे । एसएलसीसम्म पढेका शुक्रको पाठशाला नै गल्फ बनेको छ ।

‘स्कुलमा चेक गर्न जान्थे, छुट्टि लिएर जान्थ्यो, खेल्नु रहर रहेछ जाओस न त भनेर छाडिदिन्थे ।’ लक्ष्मण विगत सम्झदै भन्छन् । क्याडी ब्वाइलाई सामान्य पकेट खर्च दिने भएकाले पनि उनी लोभिएको हुन सक्ने बुबा लक्ष्मणको अनुमान थियो । तर, त्यो अनुमान अहिले लगभग गलत सावित भएको उनी आफै स्वीर्काछन् । ‘गर्व महसुस हुन्छ । प्रगति ग¥यो, देशको नाम पनि कमायो, आफ्नो नाम पनि कमायो । घर पनि कमायो ।’ उनी प्रफुल्लित हुँदै भन्छन्, ‘सूर्य ओपनमा खेल्नु रहर ग¥यो । त्यो बेला आफैँले क्याडी गरिदिएको थिएँ । फष्ट नै भयो, १६ वर्षको उमेरमा ।’

त्यहीबाट शुरु भएको विजय यात्रा अनवरत अघि बढेको उनी बताउँछन् । यसपटक उनले सूर्य नेपाल इष्र्टन ओपनमा प्रोफेसनल गल्फरहरूलाई नै पराजित गर्दै प्रो ट्रफी उचाले । प्रो. ट्रफी उचाल्ने एमेच्योरमध्येका उनी तेस्रा हुन् । सूर्य इष्र्टनमा भने उनी पहिलो एमेच्योर हुन् । जहाँ नेपालका नम्बर वान प्रोफेसनल गल्फरहरूलाई पछि पार्दै उनले ट्रफी उचालेका थिए । त्यति मात्रै हैन, सूर्य नेपाल इष्र्टन ओपनमा ह्याट्रिक गर्ने पहिलो एमेच्योर गल्फर पनि शुक्र नै हुन् । उनले २०१६ देखि निरन्तर २०१८ को सूर्य नेपाल इष्र्टन ओपन गल्फमा एचेम्योरतर्फका विजेता हुन् ।

२०१५ मा घरेलु एमेच्योर शिवकुमार माझी विजेता बनेका थिए । हाल उनी व्यवसायिक खेलाडी बनिसकेका छन् । शुक्रले नेपालका कोर्षमा मात्रै लोभलाग्दो प्रगति गरेका छैनन्, उनले भुटानमा सम्पन्न भुटान एमेच्योर ओपनमा दोस्रो बन्दै ट्रफीसहित नगद ५० हजार प्राप्त गरेका थिए । समूहतर्फ उनको समूह पहिलो बनेका थियो । त्यस्तै बङ्गलादेशमा सम्पन्न गल्फमा समूहतर्फ उनको टिम दोस्रो बनेको थियो । अहिलेसम्म भारत, बङ्गलादेश, भुटान, मलेसिया, थाइल्याण्ड, भियतनाम, कोरियालगायतमा आफ्नो खेल कौशल प्रस्तुत गरिसकेका छन् । एमेच्योरमा निकै कान्छा खेलाडी शुक्र अहिले सून्य हेण्डिक्याप खेलाडी हुन् । शुरुवाती क्षणमा १८ हेण्डिक्यापबाट खेल्न शुरु गरेका उनले सन् २०१४ को इष्र्टन ओपन जितेलगत्तै ४ हेण्डिक्यापमा झरे । हाल उनी प्रो टर्नको चरणमा छन् ।

सन् २०१६ मा भएको प्रोफेसनल छनौटमा उनी विजेता पनि बनिसकेका छन् । तर, प्रोका लागि ‘होल्ड’ मा राखिएको छ उनलाई । ‘होल्डमा राखिरहेको छ ।’ उनले सुनाए, ‘प्रो टर्नको सेलेक्सनमा म प्रथम बनेको थिएँ ।’ मेहनत र अनुशासनकै कारण उनी गल्फका उम्दा खेलाडी बनेका हुन् । उनको मेहनत देखेरै नेपाल गल्फ सङ्घले घरसमेत निर्माण गरेर उनको परिवारलाई सुम्पिएको छ । नेपाल गल्फ सङ्घका केन्द्रीय उपाध्यक्ष तिलक राईले घर हस्तान्तरणको क्रममा भनेका थिए, ‘शुक्रेजस्ता धेरै गल्फरहरू छन् धरानमा । तर, ऊ जतिको मेहनती, इमान्दार र अनुशासित खेलाडीको अभाव छ । खेलाडीमा अनुशासन हुनुपर्छ । खेलप्रति डेडिकेटेड हुनुपर्छ । उसमा त्यो छ ।’

सङ्घको सक्रियतामा शुक्रका लागि ७ लाख १२ हजार २ सय ३ रूपैयामा घर निर्माण गरिदिएको छ । जसमा सङ्घले करिब ४ लाख रुपैयाँ लगानी गरेको छ । गल्फमै केही गर्ने सोच राखेका शुक्र यतिखेर ‘सर निक फाल्डो सेरिज’ का लागि काठमाडौंमा छन् । सर निक फाल्डो सिरिजको यो तेह्रौं संस्करण हो । तर, बिरामीका कारण खेल्न नसक्ने चिन्ता पनि उत्तिकै छ । ‘भोलीदेखि गेम खेल्नुपर्ने, यी बिरामी भएर सुतिरहेको छु’ उनले फोनसम्पर्कमा भने । सङ्घले उनीप्रति गरेको सद्भावले पनि उनलाई गल्फप्रति थप क्रेज बढाएको छ । ‘सङ्घले घर बनाइदिएको सायद पहिलो व्यक्ति मै होला’ उनले भने, ‘त्यति धेरै सोचेको थिइन । सोचेभन्दा धेरै राम्रो सहयोग पाएँ ।’ गल्फमै केही गर्ने लक्ष्य राखेकै कारण शुक्रका पिता लक्ष्मणलाई अब लाग्न थालेको छ, ‘अब दुःखका दिन गए ।’

sukra-gulf-home-dharan (1)