सिमला / भारतको हिमाचल प्रदेशको पहाडी दुर्गम क्षेत्रमा शनिबार एक बस खोँचमा झर्दा छ जना स्कुले बालबालिकासहित बसका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अरु १२ जना घाइते भएको र उनीहरुलाई उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको छ । 

सिरमाउर जिल्लाका वरिष्ट प्रहरी अधिकृत रोहित माल्पानीले दुर्घटनामा मारिने बालबालिकाहरु चारदेखि १४ वर्ष उमेरका रहेको बताए ।  दुर्घटनाको वास्तविक कारण अझै नखुलेको प्रहरीले जनाएको छ । 

लापरबाही गरी सवारी चलाउने, साँघुरा र कमसल सडकका कारण हिमाचलका पहाडी इलाकाहरुमा बारम्बार सवारी दुर्घटना हुने गरेका छन् । भारतमा हरेक वर्ष सडक दुर्घटनामा औसतमा एक लाख ५० हजारको मृत्यु हुने गरेको छ ।