धरान । बुढासुब्बा गोल्डकपको रोचक पक्ष के भने शुरुवाती संस्करणहरूमा आयोजक धरान फुटबल क्लब दाबेदार टिममा दरिन्थ्यो । तर, जब–जब बुढासुब्बाको संस्करण अगाडि बढ्दै गयो । तब–तब आयोजक कमजोर टिम साबित बन्दै गयो ।

अहिले पनि त्यही अवस्था छ । बुढासुब्बा गोल्डकपको २१ औं संस्करण सङ्घारमा छ । तर, पनि टिम सेट अझै भइसकेको छैन । यही कारण नै आयोजक हरेक वर्षको फुटबल प्रतियोगितामा गतिलो उपस्थिति जनाउन नसकिरहेको फुटबलका जानकारहरू बताउछन् । धरान मिनि ब्राजिलको मानक बनाएको छ । तर, हरेक वर्षको फुटबल गतिविधि सुस्ताउदो छ । वर्षमा एकाध फुटबल प्रतियोगिताबाहेक धरानमा फुटबल प्रतियोगिता हुन छाडेका छन् । धरान फुटबल क्लबले नै पनि अन्यत्र हुने गोल्डकपमा उपस्थिति जनाउन सकेको छैन ।

यो हुनु नै धरानको फुटबलको इतिहास बिस्तारै मेटिदै गएको अनुभव फुटबलका जानकारहरू गर्छन् । २०५५ सालमा पहिलो पटक बुढासुब्बा गोल्डकप हुदा धरान उपविजेता बन्न सफल भयो । पहिलो संस्करणमै गतिलो उपस्थिति जनाएकाले पनि दोस्रो, तेस्रो संस्करण जित्नेमा धराने दर्शक आशावादी थिए । लगत्तै दोस्रो संस्करण पनि उपविजेता नै बन्यो । त्यसपछि खस्किदो अवस्थामा रहेको आयोजकले चौथोमा उपविजेता बनेर केही आशा भरेको थियो ।

‘क्लबले लगानी गर्न नसकेर हार्दैछौं’: प्रशिक्षक घिमिरे

आयोजक टिमले नजित्नुको कारण हाम्रा राम्रा–राम्रा खेलाडीहरू मनाङ, पुलिस, थ्रीस्टारले किनेर लगिदिरहेको छ । उनीहरूले ती खेलाडी हामीलाई दिदैनन् । हामीले जुनियर र सिनियर खेलाडी मिलाएर खेलाउनु पर्ने हुन्छ । यो क्लब प्रोफेसनल हुन सकेको छैन । क्लबले लिग खेलेको छैन । लिग नखेलेकाले पनि पुलिस, मनाङ, थ्री स्टार जस्ता अनुभवी टिमलाई जित्न गाह्रै हुन्छ । हाम्रो खेल हुने बेलामा मात्रै ट्रेनिङ हुन्छ । त्यो कारणले पनि हाम्रो तयारी पुगेको हुदैन ।

गेममा सहभागिता मात्रै जनाउने काम भइरहेको छ । यसलाई कसरी सुधारेर लाने हो त्यो सोच्नुपर्छ । यसपटक लोकल खेलाडीहरू खेलाउदै छौं । जित्ने भनेरै खेल्ने हो । तर पनि प्रतिस्पर्धा गर्न गाह्रो छ । जुनियर प्लेयर खेलाउनु पर्ने भएकाले यसपटक क्लबलाई ढुङ्गा चवाउनु जस्तै छ ।

तर, पाचौं संस्करणदेखि आयोजकको सहभागितामै सीमित बन्न थालेको थियो । आठौं संस्करणमा फेरि नया तरङ्ग सिर्जना गर्ने प्रयास नगरेको होइन् । तर, पनि उपविजेतामा खुम्चिन पुग्यो । त्यसपछिका संस्करणमा सेमिफाइलनबाट माथि उक्लिन सकेको छैन । रहेक संस्करणमा आयोजकको दाबी हुन्छ, ‘हाम्रो लक्ष्य जित्ने हो ।’ तर त्यो दाबी पूर्णतः फेल हुने गरेको छ । फुटबल टिम वर्कले खेलिने खेल हो । जसले गर्दा टिम निर्माणमा ध्यान दिनुपर्ने जानकारहरूको तर्क छ ।

धरानको फुटबललाई नजिकबाट नियाल्दै आएका पत्रकार राजु घिसिङ भन्छन्, ‘एउटा खेलका लागि मात्रै जम्मा पारेका खेलाडीहरू बुढासुब्बामा हुन्छन् । जसले गर्दा तालमेलको अभाव देखिन्छ । टिमवर्क नहुदा ठ्याक्कै रिजल्ट आउदैन ।’

पूर्व प्रशिक्षकसमेत रहिसकेका फुटबलर सुवास केसीको तर्क यस्तो छ, ‘कम्तिमा वर्षभरीमा क्लबमा अटाएका खेलाडीहरूले १५ वटा प्रतियोगिता खेल्नुपर्छ । त्यो हाम्रो क्लबमा छैन । एक महिना तालिम हुन्छ । खेलाडीसग अनुभव हुदैन । जुन हारको कारण बन्छ ।’ क्लब लामोसमयदेखि सञ्चालनमा छ । तर, क्लबका खेलाडीहरूको निश्चितता छैन । यसवर्ष पनि आयोजकबाट को–को खेलाडी खेल्ने भन्ने निश्चित भएको छैन । केही दिनअघिको पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष किशोर राईले भनेका थिए, ‘हाम्रोबाट गोलकिपर विनय प्रधान, हेमन्त थापा मगरलगायतका खेलाडी हुने छन् । यसपटक हामी धरानकै खेलाडी खेलाउदै छौं ।’

क्लबका केही अनुभव बटुलिसेकका जुनियर खेलाडीहरूका अनुसार क्लबले अनिवार्य रूपमा अग्रज खेलाडी खेलाउनुपर्छ भन्ने सोच राख्ने गरेको छ । जसले गर्दा आफूहरूजस्ता जुनियर खेलाडीहरूले स्थान पाउइदैन । ‘फुटबल खेल्ने गेम हो । गफ गर्ने गेम होइन । क्लबका दाजुहरूको सोच सिनियर खेलाडीलाई खेलाउनुपर्छ भन्ने दबाव हुन्छ ।’ एक अनुभव खेलाडी भन्छन्, ‘क्लबको गल्तीले हरेक वर्ष हार्दैछौं ।’

धरानले नजित्नुका पछाडि ‘दबाव’ पनि एक हो भन्ने ठान्छन् अध्यक्ष राई । हरेक प्रतियोगितामा धरानले जित्न नसकेका कारणले पनि जित्नै पर्ने दबावमा खेलाडीहरू पर्ने गरेको उनको भनाइ छ । जसले गर्दा शुरुवाती क्षणमै गोल खाएमा खेलाडीको इच्छाशक्ति त्यसै घटेर जाने गरेको छ । त्यसकारण पनि क्लब पराजित भइरहेको अनुभव उनको छ । ‘हामीले खेलाडीलाई अन्य क्लबजस्तो सेवा सुविधा पनि दिन सक्दैनौं । उनीहरू पैसाका लागि अन्यत्र खेल्ने गरेका छन् । त्यसले गर्दा पनि हाम्रो टिम राम्रो बन्न सकेको छैन ।’ अध्यक्ष राई आफै पनि स्वीकार गर्दै भन्छन्,–‘स्थायी टिमको टिम स्पीरिट, कम्यूनिकेसन राम्रो हुन्छ । ९० मिनेटसम्म त्यही स्पीरिटमा खेल्न सक्छन् ।’

तालिमको कमीका कारण खेलाडीले जित्न नसकेको भन्ने उनी ठान्दैनन् । ‘यसअघि ३–३ महिनासम्म तालिम दिन्थ्यौं ।’ उनी भन्छन् । उनको विचारमा अन्य टिमको ‘रेञ्ज हाइ’ छ भने धराने टिमको ‘रेञ्ज’ कम छ । यही कारण चाहि हरेक वर्ष टिमले उपाधि उचाल्न नसकेको बताउछन् । यसपटक उनले टिमको अन्तिम लक्ष्य जित्नेभन्दा पनि धरानका खेलाडीहरूलाई अगाडि बढाउने रहेको दाबी गर्छन् । ‘हामी जित्छौं भनेर भन्दैनौं । तर, टिमलाई स्ट्रोङ बनाउने छौं ।’ उनी भन्छन् ।

राष्ट्रिय प्रशिक्षक सम्हालिसकेका फुटबलर राजुकाजी शाक्यका अनुसार तालिमको अभाव, अनुभवको कमी र नियमित खेलाडी नहुनु नै धरानको लागि दुर्भाग्य हो । उनका अनुसार खेलाडीहरू धरानमा प्रसस्तै छन् । उनीहरूलाई नै सङ्कलन गरेर गतिलो टिम बनाउन सकिन्छ । ‘जित्छु भनेर टारगेट बनाएर गयो भने अवश्य पनि जितिन्छ ।’ उनी भन्छन्, ‘अहिलेदेखि नै तयारी हुनुप¥यो । क्यालेण्डर जस्तो बनाएर जानु प¥यो ।’
धरानबाट अहिले पनि ए डिभिजन लिगमा खेल्ने खेलाडीको सङ्ख्या दर्जनको हाराहारीमा छन् ।

उनीहरूलाई एकत्रित गर्न सकेमा अहिले पनि क्लबको उपस्थिति राम्रो हुने देख्छन् उनी । ‘धरानमा राम्रो खेलाडीहरू छन् । सबै खेलाडीलाई एक ठाउमा राखेर क्लबले कुरा गर्नुप¥यो ।’ उनले पनि नामले फुटबल नजितिने दाबी गर्छन् । तयारीलगायतको अभावले नै पनि धरान फुटबलले गतिलो नतिजा निकाल्न सकिरहेको छैन । आयोजक धरानले पक्कै पनि खेलाडीहरूलाई नियमित तालिम तथा प्रतियोगिताहरूमा सामेल गराउनु पर्ने तर्क प्रशिक्षक शाक्यको छ । क्लबले पनि निश्चित खेलहरू जित्ने भनी क्यालेण्डर बनाउनुपर्छ । अनि मात्रै धरानले घरेलु मैदानमा घरेलु समर्थकलाई उपाधि दिलाउन सक्ला ।