काठमाडौँ । ‘मलेसिया रिटर्नी समाज नेपाल’ ले मलेसियाबाट फर्किएका नेपाली कामदारको पहिलो राष्ट्रिय भेला यही पुस १७ गते गर्ने भएको छ । नेपाल फर्किएका युवालाई स्वदेशभित्रै सरकारले प्रदान गर्ने सेवामार्फत स्वरोजगारमा जोड्न भेलाको आयोजना गरिएको पत्रकार सम्मलेनमार्फत शनिबार समाजका रामचन्द्र नेपालले जानकारी दिए । 

“मलेसियामा कति नेपाली कामदार गए र अहिले नेपाल फर्किएपछि उनीहरु के गरिरहेका छन् भन्नेबारे कसैलाई पनि थाहा छैन”, नेपालले भने । तत्काल सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि प्रदान गर्ने सामाजिक सुरक्षा योजनामा जोड्नु भेलाको प्रमुख उद्देश्य रहेको उनले जानकारी दिए। 

भेलाले विदेशमा सिकेका सीपलाई नेपालमा सदुपयोग गर्ने र गराउने, नेपालमा फर्किएर विभिन्न व्यवसायमा लागिसकेकाको अनुभव आदानप्रदान गर्ने, मलेसियामा रहेकाका परिवारलाई वित्तीय साक्षरता अभिवृद्धि र कमाएको धनको सही सदुपयोग गरी राष्ट्रनिर्माणमा सहयोग गर्ने, मलेसियाबाट फर्किएका युवाका लागि सामूहिक लगानीका सम्भावनाको खोजी गर्ने उद्देश्य राखेको छ । 

त्यस्तै वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन विभिन्न सङ्घ सङस्था, प्रदेश र स्थानीय सरकारलाई नीति तथा कार्यक्रमगत सुझाव उपलब्ध गराउने उद्देश्य भेलाले राखेको छ ।