अबुजा । नाइजेरियाका पूर्व राष्ट्रपति शेहु शागरीको ९३ वर्षको उमेरमा निधन भएको नाइजेरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनी सन् १९७९ देखि १९८३ सम्म नाइजेरियाको राष्ट्रपति थिए । नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले एक वक्तव्य प्रकाशन गरी पूर्व राष्ट्रपतिको निधनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । 

सेनाका पूर्व जनरल एवं हालका राष्ट्रपति बुहारीले सन् १९८३ मा शागरीको सरकार विरुद्ध सत्ताविद्रोह गरेका थिए । राष्ट्रपति बुहारीले शासन सत्तामा नरहे पनि शागरीप्रति आम जनताले उच्च सम्मान व्यक्त गरेको बताए । 

शागरीको राष्ट्रपतित्वकालमा तेलको मूल्यमा सन् १९८० को प्रारम्भमै भारी गिरावट आएका कारण मुलुकको आर्थिक स्थिति कमजोर बनेको थियो । साथै, अव्यवस्था चरम सीमामा पुगेको तथा राष्ट्रको ऋण बढेको थियो । 

मुलुकको आर्थिक परिस्थिति कमजोर भएपनि उनको दलले सन् १९८३ को चुनावमा अभूतपूर्व विजय हासिल गरेको थियो । तर, विपक्षी दलहरुले चुनावमा व्यापक धाँधली भएको आरोप लगाएका थिए । त्यही वर्षको डिसेम्बर ३१ मा बुहारीले शागरीको सरकार विरुद्ध सत्ता विद्रोह गरेका थिए । शागरीमाथि भ्रष्टाचारको मुद्दा चलाइएको थियो । 

तर, भ्रष्टाचारको आरोपबाट मुक्त भएपनि उनी राजनीतिमा पुनः फर्कीएनन्। जीवनको उत्तराद्र्धमा उनले राजनीतिबाट सन्यास लिएका थिए ।