ढाका (रासस/एएफपी) / बङ्लादेशमा आइतबार हुने निर्वाचनका लागि सुरक्षा व्यवस्थामा उच्च कडाई गरिएको छ ।अधिकारीहरुले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मीहरु गरी झण्डै छ लाख परिचालन गरिएको जनाएका छन् । 

मतदानको दिन नजिकिदै गर्दा हिंसात्मक घटनाहरु पनि बढ्दै गएकाले सुरक्षा व्यवस्थामा कडाई गरिएको अधिकारीहरुको भनाई छ । प्रधानमन्त्री शेख हसिना नै फेरी निर्वाचित हुने अपेक्षा गरिएको आम निर्वाचनका लागि देशभर झण्डै ४० हजार मतदान केन्द्रहरु तय गरिएको छ  । सुरक्षाकर्मीहरुलाई विभिन्न समूह तथा तहका विभाजन गरेर मतदान केन्द्रदेखि गाँउ गाउँसम्म खटाइएको छ ।

“देशको क्षमता अनुसार हामी सकेसम्मको उच्च सुरक्षा व्यवस्था गरेका छौँ, सुरक्षामा कुनै कमजोरी तथा अभाव हुनेछैन भन्ने हामीले विश्वास लिएका छौँ,” निर्वाचन आयोगका एक अधिकारी राफिक्वाल इस्लामले भने । उनले थपे, “निर्वाचनका लागि शान्तिपूर्ण वातावरण हुनेछ भन्ने हामीलाई आशा छ ।” यस पटकको निर्वाचनको सिलसिलामा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ भने अरु हजारौ घाइते भएका छन् । 

मुसलिम समुदायको बाहुल्यता रहेको यस देशमा हुन लागेको निर्वाचनमा प्रधानमन्त्री हसिनाको सत्तारुढ दल र प्रमुख विपक्षी दल बङ्लादेश नेसनल पार्टी (बिएनपी) बीच प्रतिश्पर्धा हुने देखिएको छ । प्रधानमन्त्री शेख हसिनाले आफ्नो जित सुनिश्चत भएको दाबी गर्दै आएको छ भने विपक्षीहरुले निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशङ्का गरिरहेका छन् । 

प्रधानमन्त्री हसिनाले विपक्षीहरुले आफूविरुद्ध बम आक्रमण गराएको आरोप लगाउनु भएको छ भने उनलाई विपक्षी दलले राज्य आतङ्क मच्चाएको दाबी गरेको छ । विपक्षी दलकी प्रमुख खालिदा जिया हाल ढाकास्थित जेलमा छन् । ७३ वर्र्षीया जिया पूर्वसैनिक तानाशाहकी विधवा छिन् भने प्रधानमन्त्री हसिनाका बुबा बंगलादेशका संस्थापक नेता हुन् । 

यी दुबै महिला नेतृ सन् १९८० को दशकदेखि नै विरासतका आधारमा राजनीतिक रुपमा सक्रिय छन् । यो चुनावमा विजयी भए शेख हसिनाले बङ्गलादेशमा सबैभन्दा लामो अवधिसम्म सत्तासिन हुने रेकर्ड बनाउने छिन् । यसअघि दुबै महिला नेतृले जनआन्दोनको आडमा सन् १९९० मा सैनिक तानाशाह हुसेन मोहम्मद एर्सादलाई सत्ताच्यूत गरी लोकतन्त्र पुनस्र्थापना गरेका थिए । 

तर सन् १९९१ मा प्रधानमन्त्रीमा जिया निर्वाचित भएपछि यी दुई महिला नेतृबीच चरम कटुता उत्पन्न भयो । त्यसपछिका चुनावबाट यी दुई लगभग आलोपालो प्रधानमन्त्री भइरहेका छन्, र प्रतिशोधको राजनीति चरमविन्दुमा पुगेको छ । विपक्षी दलकी अध्यक्ष जिया भ्रष्टाचारको आरोपमा १७ वर्षको जेलमा हुन् । बङ्गलादेशी कानुन बमोजिम जियाले चुनाव लड्न पाएको छैन । 

उनको दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले उक्त आरोप “राजनीतिक प्रेरित” रहेको भन्दै आलोचना गरिरहेको छ । निर्वाचनको पूर्वसन्ध्यामा पार्टीसम्बद्ध हजारौं कार्यकर्तालाई पक्राउ गरिएको बीएनपीले जनाएको छ । चर्को विवाद, तनाब र हिंसाका बीच बङ्गलादेशमा गत बिहीबार रातीदेखि अहिले मौन अवधि चलिरहेको छ ।