विराटनगर /  १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार प्रेस स्वतन्त्रता प्रति सँधै प्रतिबद्ध रहेको बताएका छन् ।
विराटनगरमा बिहिबार भएको नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनको उद्घाटन शत्रमा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकारको प्राथमिकता, नीति कार्यक्रम र बजेटमा पनि प्रेस स्वतन्त्रतालाई सम्मान गरेको बताए ।
उनले संघीयता असफल पार्न केही मिडिया पनि लागिरहेको दाबी गरे । ‘अहिले योजनाबद्ध ढंगले राष्ट्रपतिको सुविधाको विषयलाई लिएर होस् या प्रधानमन्त्री, मुख्यमन्त्रीलाई जोडेर सिलशिला मिलाएर आक्रमण हुने क्रम सुरु भएको छ,’ उनले भने, ‘केही मिडियाले त्यही कुरामा लय मिलाएर वर्तमान व्यवस्थाप्रति आक्रमण गरिरहेको कुरालाई हामीले हेक्का राखिरहेका छौं ।’
कार्यक्रममा बोल्दै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले कानून निर्माणको क्रममा प्रेस स्वतन्त्रताको विषयमा प्रदेश सरकार सचेत रहेको बताए । यद्यपी पत्रकारहरुले आफ्नो मत एउटै बनाउनु पर्ने र प्रेसको न्यूनतम सिद्धान्तको पालना हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल १ नम्बर प्रदेश संसदीय दलका नेता जयराम यादवले पत्रकारहरु राजनीतिक दलका भातृ संस्था हुन नहुने बताए । उनले राष्ट्रसेवक कर्मचारी, शिक्षक र उद्योगमा काम गर्ने मजदुर पनि राजनीतिक दलको रुपमा विभाजित हुन नहुने आफ्नो धारणा रहेको बताए ।

देशभरीका २ सय पत्रकार विराटनगरमा
विराटनगरमा शुक्रबारदेखी नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन सुरु भएको छ । देशभरीका २ सय बढी पत्रकारहरूको सहभाग छ । ‘व्यवसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ नाराका साथ सुरु भएको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै पत्रकार अगुवाहरुले पत्रकार महासंघको अबको बाटो चुनौतिपूर्ण हुने बताए ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले पत्रकार महासंघले नेपालको लोकतन्त्र ल्याउनका लागि अगुवा भूमिका खेलेको भन्दै अवस्था चिन्ताजनक भने नरहेको बताए ।
‘नेपालमा लोकतन्त्र ल्याउनका लागि पत्रकारहरुले अगुवा भूमिका खेलेको थियो । लोकतन्त्र कसले लान्छ । लोकतन्त्रका सारथीहरु हामी हौं, राजनीतिक दलप्रति हामी त्यति धेरै डराउनु पर्दैैन,’ गाउँलेले भने, ‘अधिकारको लडाईमा हामी कहिले पनि झुक्दैनौं ।’
पत्रकारहरु प्रश्न गर्ने ठाउँमा भएको कारण चाकडीमा लाग्न नहुने पनि उनले बताए । ‘पत्रकारहरुलाई कुनै पनि राजनीतिक दल तथा पार्टीका भातृ संगठनको साँघुरो टनेलमा छिराउँदै जाने हो भने पत्रकार महासंघ रहेपनि पत्रकार रहँदैन,’ पत्रकारहरु राजनीतिक दलमा विभाजित भएको विषयमा बोल्दै गाउँलेले भने, ‘पत्रकारिता भनेको सँधैभरी प्रश्न उठाइरहने अवस्थामा रहेको छ, प्रश्न गर्ने ठाउँमा रहनेले चाकडी गर्नु वा कुम जोड्नु हुँदैन ।’
कार्यक्रममा बोल्दै प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले ठूला संचारमाध्यामका सम्पादकहरुले सम्पादकीय स्वतन्त्रताको दुरुपयोग गरेर प्रतिपक्षीको भूमिका खेलिरहेको टिप्पणी गरे । पत्रकार स्वतन्त्र र निष्पक्ष हुन नसकिरहेको यसरीनै दुरुपयोग बढ्दा अविश्वास पैदान हुनसक्ने तर्फ महासंघ सचेत हुनुपर्नेमा बस्नेतले जोड दिए ।
‘सम्पादकहरुले पदको दुरुपयोग गरेर प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छन्, यो मन्त्रीले गर्ने भ्रष्टाचार भन्दा कम छैन,’ बस्नेतले भने, ‘जब हामी स्वतन्त्र र निष्पक्ष हुन सक्दैनौं, सम्पादक पदको दुरुपयोग गरेर समाचारमा खेल्न थाल्छ त्यसपछि पत्रकारिता संकटमा पर्छ ।’ पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकार महासंघको रणनीतिक कार्ययोजना निर्माण गर्ने र प्रेस स्वतन्त्रताको राष्ट्रिय अन्तराष्ट्रिय मान्यताको विषयमा सम्मेलनमा छलफल हुने बताए । उनले पत्रकार महासंघले लोकतन्त्र, मानवअधिकार, कानूनी राज्य र नागरिक अधिकारको आवाज उठाउँदा विपक्षीहरुले आलोचना गरेको भएपनि महासंघ सही बाटोमा रहेको दाबी गरे ।
‘६५ वर्षको पत्रकार महासंघको इतिहासमा अब नागरिक अगुवा संस्थाको रुपमा भूमिका खेल्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘पत्रकार महासंघले लोकतन्त्र, मानवअधिकार, कानूनी राज्य र नागरिक अधिकारको आवाज उठाउँदा विपक्षीहरुले आलोचना गरेको भएपनि आफूहरु सही ठाउँमा छौं ।’
सम्मेलनमा बोल्दै न्यूनतम पारिश्रमीक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले भर्खरै सरकारले लागू गरेको न्यूनतम पारिश्रमीक कार्यान्वयनको चरणमा रहेको बताए ।
महासंघको केन्द्रीय सम्मेलनमा ७ वटै प्रदेशका अध्यक्ष, महासचिव तथा सबै शाखाका अध्यक्षहरु र केन्द्रीय सदस्य गरेर २ सय बढीको सहभागीता छ । सम्मेलनमा महासंघका पूर्व अध्यक्ष गाउँले र तारानाथ दाहालले प्रस्तुत गरेको प्रतिवेदनको विषयमा छलफल हुनेछ । छलफल पछि आएका सुझावका आधारमा महासंघको आगामी रणनीति तयार पारिने बताइएको छ । २ दिनसम्म चल्ने सम्मेलनमा व्यवसायिक पत्रकारिता, श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन र पत्रकारितामा हुने राजनीतिककरणको अन्त्य गर्ने विषयमा पनि छलफल हुनेछ ।