मधुमल्ला । गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम मोरङमा पनि लागु भएको छ । ४७ औं जिल्लाको रुपमा मोरङमा स्वास्थ्य बीमा भएको हो ।
५ जनासम्म सदस्य रहेको परिवारले वर्षको २ हजार ५ सय रुपैँया प्रिमियम रकम तिरेर सदस्य बन्नुपर्ने हुन्छ भने यस बापत वर्ष भरिमा ५० हजार बराबरको स्वास्थ्य सेवा लिन पाईने छ । ५ जना भन्दा बढी सदस्य भएको परिवारले १ व्यक्ति बराबर थप ४ सय ५० बढी तिरेर विमा सदस्य बन्ने र ५० हजार बराबरको निःशुल्क उपचार सेवा लिने व्यवस्था छ । बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था रहेको छ । सरकारले अति विपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरिबीको रेखा मुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था छ । यसैबीच मंगलबार मोरङको उर्लाबारीमा जनप्रतिनिधि तथा सरोकारवालाबीच एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मी भण्डारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा उर्लाबारी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, संचारकर्मी तथा सरोकारवाला संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका रामकुमार श्रेष्ठले सहजीकरण गरेका थिए भने कार्यक्रम सञ्चालन उर्लाबारी नगरपालिका स्वास्थ्य शाखा सह–संयोजक रेणुकाप्रसाद काफ्लेले गरेका थिए ।
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्ने उर्लाबारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तोया घिमिरेले बताए । व्यक्तिगत झै–झगडाका कारण चोटपटक लागेमा, लागु तथा मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोटपटक लागेमा, गर्भपतन गरेमा, कस्मेटिक सर्जरी गरेमा भने यो सेवा नपाइने उनको भनाई छ ।