मधुमल्ला । पुर्व उत्तर मोरङको मिक्लाजुङ गाउँपालिका –१ रमिते खोला स्थित टाँडी माध्यमिक विद्यालयमा विद्यार्थीहरुको पठन पाठनमा टेवा पुर्याउने उद्धेश्यले पुस्तकालय स्थापना गरिएको छ । राष्ट्रगानका लेखक व्याकुल माइलाको हातबाट मिक्लाजुङमा बिहीबार उक्त पुस्तकालय उद्घाटन गरिएको छ ।

पुस्तकालयमा विभिन्न विषयका दुई हजार पुस्तक संग्रहित छन् । त्यही विद्यालयमा पढेका कवि हेमन यात्रीको सक्रियतामा मुलुकभरका कवि/लेखकबाट संकलित पुस्तक पुस्तकालयमा राखिएको छ । ‘करिब डेढ लाख रुपैयाँ खर्चेर हामीले नयाँ पुस्तक पनि किनेका छौं’, यात्रीले भने, ‘लेखकहरूबाट प्राप्त पुस्तक समेत गर्दा करिब ६ लाख रुपैयाँ भन्दा बढी हुन आउँछ।’

गाउँका विद्यालयमा पुस्तकालय खुलेकामा प्रमुख अतिथि माइलाले खुशी प्रकट गरे । पुस्तकालयले विद्यार्थीलाई पाठ्य पुस्तक सहित बाहिरी ज्ञान लिन सजिलो हुने प्रधानाध्यापक अमृत कुमार राई बताउँछन् ।

उनले समयसँगै नयाँ नयाँ पुस्तक थप्दै जाने जानकारी दिए। कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार चौधरीले पुस्तकालयलाई अपग्रेट गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

पुस्तकालय उद्घाटन सँगै विद्यालयमा मिक्लाजुङ गाउँपालिकाव्यापी माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता आयोजना गरिएको थियो भने कवि मनु मन्जिलले पठन संस्कृतिको महत्वको बारेमा प्रवचन दिएका थिए । ‘जति धेरै किताब पढ्यो त्यति धेरै जीवनलाई परिमार्जन गर्न सकिन्छ’, मन्जिलले सुनाए, ‘मनको ढोका खोल्न पनि दिनदिनै पुस्तक पढ्नु पर्छ ।’

कार्यक्रममा स्थापित कविहरू प्रकाश थाम्सुहाङ, सन्जिब राई, सुन्दर कुरूप र देवान किराँतीले कविता सुनाएका थिए । त्यस्तै स्थानीय गायक नितेश राईले गीत गाएर माहौल तताएका थिए ।