सिरहा/ लहान नगरपालिका वडा न. २३ बस्ने सामान्य घर भएकी राजकुमारी चौधरीको सम्पत्तिको नाममा घडेरी र ८ कट्ठा खेतमात्र थियो । ६ छोरी, १ छोरा, दुई दम्पत्ति र सासु–ससुरा गरी जम्मा ११ सदस्य रहेको ठूलै परिवार थियो ।

सामान्य कल (ह्याण्ड पम्प) को मिस्त्री श्रीमान्को कमाइले बचत हुने कुरै थिएन । दैनिक छाक टार्न समेत समस्या हुँदै आएको थियो । विस्तारै राजकुमारीको चिन्ता बढ्दै थियो । छोराछोरी पढाउने चिन्ता, सासु–ससुराको उपचारको चिन्ता बढ्दै जाँदा उनी वैकल्पिक आम्दानीको स्रोतको खोजीमा लागिन् ।

शुरुमा २–४ वटा बाख्रा पालिन् र कमै क्षेत्रफल जग्गामा तरकारी खेती शुरु गरिन् । तरकारी खेती र बाख्रा पालनमा मिहिनेत गर्दै जाँदा हाल राजकुमारीको परिवारले लाखौं आम्दानी गर्न थालेको छ ।
झण्डै २ कट्ठामा काउली, खुर्सानी, रायो साग लगाउन थालिन् ।

तरकारी खेतीबाट आम्दानी आउन थाल्यो । उता बाख्रापालनबाट पनि आम्दानी आउन थाल्यो । परिवारको जीवनशैलीमा पनि परिवर्तन हुन थाल्यो । उनका सासु–ससुराले पनि उनलाई तरकारी खेतीमा सहयोग गर्न थाले ।

राजकुमारीले परिवारको सहयोग पाएपछि आफूले गर्दै आइरहेको तरकारी खेतीलाई २ कट्ठाबाट ४ कट्ठामा परिणत गरिन् । ४ कट्ठामै काउली, भन्टा, धनियाँ, टमाटर लगाउन शुरु गरिन् । सोना मन्सुली धान काटेर कार्तिक मङ्सिरमा तरकारी लगाउनाले तरकारीको बजारको भाउ त्यति राम्रो हुँदैनथ्यो ।

तरकारी खेतीलाई २ कट्ठाबाट ४ कट्ठामा परिणत गरेकी राजकुमारीको आम्दानी पनि बढ्दै गयो । तरकारी खेतीको आमदानीले नै ३ जना छोरीको बिहे गरिसकेकी राजकुमारीको जीवनशैलीमा पहिलेको भन्दा दोब्बर परिवर्तन भएको छ ।’ उनी भन्छिन्– ‘मिहिनेत गरेपछि फल अवश्यै पाइँदो रहेछ ।’

२०७२ सालमा विश्व खाद्य तथा कृषि सङ्गठनद्वारा सञ्चालित जलवायु परिवर्तन अनुकूलन कृषि आयोजनाअन्तर्गत कृषि र पशुमा जलवायु अनुकूलन गर्ने उद्देश्यले सञ्चालन गरिएको कृष्ण जलवायु कृषक पाठशालामा नियमित रूपले सहभागी हुन थालिन् ।

वर्षा सिजनमा धानको कृषक पाठशालामा उनले सुख्खा सहने र चाँडो पाक्ने उत्पादन पनि राम्रो हुने जलवायु अनुकूलित धान खेतीको बारेमा पाठशालाबाट धेरै सिकिन् र आफ्नो खेतमा पनि लगाउने सोच बनाइन् ।

०७४ सालमा आयोजनाबाट प्राप्त समर सिजनको तरकारीको बीउबाट राम्रो आम्दानी गरेकी राजकुमारीले आफ्नी १ छोरी लाई डी.फर्मा पढ्न भारतको राजस्थान पठाइन् । यस वर्ष आफ्नो तरकारी खेतीलाई अझै व्यापक गर्ने उद्देश्यले आफ्नो ८ कट्ठामै सुख्खा सहने र चाँडै पाक्ने धान सुख्खा–३ लगाइन् ।

कात्तिक शुरु सातादेखि नै उनले तरकारी खेतीबाट आम्दानी गर्न थालेकी छन् । काउली, भन्टा, बन्दा, धनियाँ, खुर्सानी, रायो साग लगाएर हरियो धनियाँबाटै झण्डै ६० हजार र काउलीबाट २० हजार आम्दानी गरिसकेकी छिन् । राजकुमारी अहिले दिनभर तरकारी खेतीमै व्यस्त देखिन्छिन् ।