डोटी ।  जाडो मौसम शुरु भएसँगै जिल्लामा पशुमा लाग्ने खोरेत रोगको महामारी फैलिन शुरु भएको छ । 


जिल्लाको दीपायल सिलगढी नगरपालिकाका केही वडासहित ग्रामीण क्षेत्रमा एक दुई हप्ता यतादेखि खोरेत रोगको महामारी फैलिन शुरु भएको स्थानीयवासी कैलाश विकले बताउनुभयो । उहाँले भन्नुभयो, “गाई, गोरुमा एकाएक खोरेत रोग देखियो, जति औषधि गरे पनि निको हुँदैन हामी त चिन्तित छौँ ।” 

यो रोग जाडो मौसममा भने महामारीका रुपमा नै फैलिने गरेको पशुसेवा डिभिजन कार्यालयका पशु चिकित्सक महानन्द साउँदले बताउनुभयो । उहाँले भन्नुभयो, “यो सरुवा रोग हो, रोग लाग्नुभन्दा पहिले नै सजग भए राम्रो, यस्को खासै उपचार हुँदैन ।” खास गरेर खुर भएका पशुको मुख र खुट्टामा खोरेतको सङ्क्रमण देखिने गरेको छ भने सङ्क्रमण फैलिँदै जाँदा खुरको छाला कुहिने र किरा पर्ने समस्या हुन्छ । शुरुको अवस्थामा पशुको मुखबाट ¥याल आउने तथा मुखभित्रको जिब्रोमा घाउसमेत हुने गरेको पशु चिकित्सक महानन्द साउँदले बताउनुभयो । यो रोग गाई, भैँसी, भेडा, बाख्रा र बङ्गुरमा लाग्ने गरेको छ । यो रोग लागेपछि शुरुमा पशुलाई जरो आउने, मुखबाट ¥याल आउने, खुट्टामा घाउ भएर हिँड्न नसक्ने, खान छोड्ने गर्छ ।