धरान  / सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’को फाइनल ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजमा पुस ६ गते फाइनल गर्ने तय भएको छ ।  गत वर्षको ‘नेपाल आइडल’ सिजन वनको फाइनल कतारमा भएको थियो । फाईनलको प्रत्यक्ष प्रशारण नेपालीहरुले हेर्न पाएर निकै आलोचना पनि भएको थियो ।

नेपाल आइडलमा फाइनलमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड गरि चार जना प्रतिस्पर्धी पुगेका छन् । बिहीबारको प्रस्तुतीमा मुख्य निर्णायक न्युह् बज्राचार्यले चारै जना प्रतिस्पर्धीलाई फाइनलमा लैजाने बताएका थिए ।

विक्रम र सुमित गोल्डेन माइक पाएका प्रतिस्पर्धी हुन् । गोल्डेन माइक पोखराकी निलिमा थापा मगर र चितवनका मीनराज पौडेलले पनि पाएका थिए तर उनीहरु प्रतिस्पर्धाबाट बाहिरिसकेका छन् । ‘नेपाल आइडल’को निर्णायकका रुपमा न्युह् बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी छन् ।

सिजन वनमा गाला राउण्डमा पुगिसकेपछि दर्शकको भोटका आधारमा प्रतिस्पर्धीको निर्णय गरिएको थियो । तर, यो सिजनमा भने परिमार्जन गरेर गाला राउण्डमा पनि निर्णायकमा ५० प्रतिशत अधिकार राखिएको छ । अघिल्लो प्रतियोगिताको भन्दा निर्णयमा निर्णयका ेअधिकार राखिएको छ ।

‘नेपाल आइडल’ सिजन–२ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वर्ल्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने आयोजकले जनाएको छ ।

सिजन वनमा बुद्ध लामा नेपाल आइडल भएका थिए । लामा पहिलो नेपाल आइडल हुँदा फष्ट रनरअप निशान भट्टराई र सेकेण्ड रनरअप प्रताप दास भएका थिए । एपी वन टेलिभिजनले उक्त कार्यक्रम गर्दै आएको छ ।