धरान /  सरकारले विदेशमा विभिन्न सीप सिकेर फर्केका युवाको निःशुल्क सीप परीक्षण गर्ने तयारी गरे पनि लक्ष्यभन्दा निकै कममात्र युवाको आवेदन परेको छ ।  सरकारले यस वर्ष एक हजारको सङ्ख्यामा वैदेशिक रोजगारीबाट फर्केका युवाको २० प्रकारका सीप परीक्षण गर्ने लक्ष्य लिएको थियो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले दुई साताअघि वैदेशिक रोजगारीबाट विभिन्न सीप आर्जन गरी स्वदेश फर्केका कामदारको निःशुल्क सीप परीक्षण गर्ने सूचना जारी गरे पनि बिहीबारसम्म ६० युवाले मात्र सीप परीक्षणका लागि निवेदन दिएका बोर्डका उपसचिव दीनबन्धु सुवेदीले जानकारी दिए । 

उनले भने भयो, “हामीले लक्ष्य गरेकाभन्दा निकै कम सङ्ख्यामा युवाले आवदेन गरेका छन् ।” उनका अनुसार कैलालीमा १३ जनाले निवेदन दिएका छन् भने पर्सा, सिरहा, धनुषा, बागलुङलगायत केन्द्रम कुनै पनि निवेदन परेका छैन । 

बोर्डले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)को सहयोगमा तह १ को सीप परीक्षण गर्ने तयारी गरेको थियो ।  बोर्डले विभिन्न २० प्रकारका सीपको परीक्षण हुने जनाएको छ । विल्डिङ पेन्टर, फर्निचर मेकर, जुनियर प्लम्बर, स्काप फोल्डर, सटरिङ कार्पेन्ट्री, स्टोन लेयर मेसन (डकर्मी), विल्डिङ इलेक्ट्रेसिन, इन्डस्ट्रियल इलेक्ट्रिसियन र असिस्टेन्स ब्यूटिसियनको सीप परीक्षण गरी प्रमाणपत्र दिने जनाएको छ ।  यस्तै असिस्टेन्ट वेटर, केयर गिभर, कमि तेस्रो, हाउस किपिङ क्लिनर, आर्क वेल्डर, आलुमिनियम फेब्रिकेटर, रेफ्रिजेरेशन एण्ड एअर कन्डिसन जुनियर मेकानिक्स, सुरक्षा गार्ड, टेलरिङ, एक्साभेटर अपरेटर र स्ट्रक्चरल फेब्रिकेटरको सीप परीक्षण गरिने छ । 

सीप परीक्षणका लागि बोर्डले तोकेको फारमसँगै नागरिकताको प्रमाणपत्र र राहदानीको प्रतिलिपी, वैदेशिक रोजगारीमा गएको प्रमाणीत हुने अन्य कागजात पेश गर्नु पर्नेछ । यही पुस ११ गतेसम्म निवेदन दिन सकिने बोर्डले जनाएको छ । सातै प्रदेशका विभिन्न स्थानमा सीप परीक्षणका लागि निवेदन दिन सकिने उपसचिव सुवेदीले जानकारी दिए । 

प्रदेश नं १ को दमक टेक्निकल एजुकेशन फाउन्डेशन (झापा) र पाथिभरा हिमालयन पोलिटेक्निक प्रालि (सुनसरी), प्रदेश नं २ को लहान प्राविधिक शिक्षालय (सिरहा), विपी मेमोरियल पोलिटेक्निक इन्ष्टिच्युट (धनुषा) र वीरगन्ज इन्ष्टिच्युट अफ टेक्नोलोजी (पर्सा), प्रदेश नं ३ को नेपाल–भारतमैत्री पोलिटेक्निक इन्ष्टिच्युट (मकवानपुर), नारायणी पोलिटेक्निक इन्ष्टिच्युट (चितवन), वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालय (काठमाडौँ) र राष्ट्रिय सीप परीक्षण समिति (भक्तपुर) मा पनि निवेदन दिन सकिने छ । 

त्यस्तै गण्डकी प्रदेशको पोखरा प्राविधिक शिक्षालय (कास्की) र धवालागिरि पोलिटेक्निक इन्ष्टिच्युट (बागलुङ), प्रदेश नं ५ को कोरिया नेपाल इन्ष्टिच्युट अफ टेक्नोलोजी (रुपन्देही), राप्ती प्राविधिक शिक्षालय (दा¬ङ) र भेरी प्राविधिक शिक्षालय (बाँके), कर्णाली प्रदेशको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय (सुर्खेत) र कर्णाली प्राविधिक शिक्षालय (जुम्ला) तथा सुदूरपश्चिम प्रदेशको धनगढी कलेज अफ इन्फरमेशन टेक्नोलोजी (कैलाली), व्यावसायिक तथा सीप विकास तालीम केन्द्र (कञ्चनपुर) र सेती प्राविधिक शिक्षालय (डोटी) बाट सीप परीक्षणका लागि निवेदन दिन सकिने बोर्डले जनाएको छ ।