विजयपुर / किरात राई यायोख्खा जिल्ला कार्य समितिको आठौं अधिवेशन धरानमा सम्पन्न भएको छ ।

किरात राई यायोख्खा सुनसरीका भवनमा आयोजित कार्यक्रमको उद्घाटन यायोख्खाका केन्द्रीय अध्यक्ष तिलक राईले गरे । अधिवेशनका क्रममा बोल्ने अधिकांश वक्ताहरूले एक नम्बर प्रदेशको नामाकरण किरात प्रदेश हुनुपर्ने बताए । उनीहरूले किरायाले एक नम्बर प्रदेशका जनतालाई बुझाउन नसकेको आरोपसमेत लगाए ।

कार्यक्रममा बोल्दै आदिवासी जनजाति महासङ्घ सुनसरीका अध्यक्ष राम राईले किरात राज्यका लागि आन्दोलित हुँदै आएको सुनसरीको अधिवेशन वृहत नभएकोप्रति गुनासो पोखे । उनले अब किरात राईहरू एक भई अझ सशक्त भएर अगाडि बढ्नुपर्ने बताए ।

अधिवेशनले नयाँ कार्य समिति चयन गर्ने छ । यसक्रममा किरात राई पत्रकार सङ्घ सुनसरीको एक पक्षले टाउकोमा कालोपट्टी बाधेर विरोध गरे । विगतमा नेतृत्व चयन गर्दा संस्थामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेभन्दा पनि आफ्नो, आफन्त तथा गुटबन्दीका आधारमा नेतृत्व चयन गरेकोभन्दै विरोध गरे ।

किरात राई पत्रकार सङ्घ सुनसरीको नतृत्वमा विशाल राईलाई केन्द्रीय समितिले चयन गरेपछि प्रवीण राई नेतृत्वले असन्तुष्ट व्यक्त गर्दै आइरहेको छ । को आधिकारिक भन्नेमा द्वीविधा उत्पन्न भएपछि नेतृत्व तहलाई छलफलको माध्यमबाट टुङ्ग्याउन माग गरे । विगतमा भए गरेका काम विवादास्पद भएको भन्दै नेतृत्वप्रति चरम असन्तुष्टि पोखेका थिए ।

नेतृत्वलाई सतर्क गराउन कालोपट्टी बाधेको किरात राई पत्रकार सङ्घ सुनसरीका एक सदस्य सन्दीप राईले बताए । अधिवेशन किरायाकी जिल्ला अध्यक्ष कमला राईको अध्यक्षतामा सम्पन्न भएको छ ।