धरान / मंसिर २३ गते राति सुनसरीको कोशी गाउपालिका–७ मुसहरी टोलमा प्रहरीसगको मुठमेडमा मारिएका डाँकाको पहिचान ६ दिनपछि खुलेको छ ।

सप्तरी हनुमान नगर कंकालिनी नगरपालिका–१३ का ४० वर्षीय नसरुल मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । भारतीय नाकाबाट नेपाल प्रवेश गर्ने क्रममा चेकजाचको क्रममा ४–५ जनाको समूहमा आएकामध्ये मियाको मुठभेडका क्रममा मारिएका थिए । सो समयमा पहिचान नखुलेपछि पोष्टमार्टमका लागि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको थियो । उनीसगै रहेका अन्य अझै फरार छन् । प्रहरीले उनीहरूको खोजी कार्य तीव्र पारेको छ ।

उनी हाल हनुमान नगर कंकालिनी नगरपालिका–८ जोगिनियामा बस्दै आएका थिए । मृतकका बुबा कमल मन्सुरीले सनाखत गरी शुक्रबार शव बुझेका छन् । मिया यसअघि पनि सप्तरीमा गोली प्रहार गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । उनको २०७० कात्तिक ४ गते मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका एसपी राजन अधिकारीले जानकारी दिए । त्यस्तै उनको हातहतियार खरखजना मुद्दामा २०७३ फागुन २९ गते दर्ता भएको थियो । उनी विभिन्न अपराधमा संलग्न भई फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा पनि लागूऔषध मुद्दामा फरार रहेको व्यक्ति रहेको प्रहरीले बताएको छ । भारतमा लुकिछिपी बस्दै आएका उनी विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको प्रहरीले दाबी गरेको छ । प्रहरीसगको मुठभेडपछि उनको मृतक शरीरमा खानतलासी गर्दा २ थान कटुवा पेस्तोल, र पेन्टको गोजीमा ५ वटा गोलीसमेत बरामद भएको थियो । तात्कालीन समयमा पहिचान खुल्न सकेको थिएन ।