सिरहा । सिरहा जिल्लको विभिन्न ठाँउमा सडक दुर्घटनाबाट दुई दिनमा तीन जनाको मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी जथाभावी बाटो काट्दा र तिब्र गतिमा ‘ओभर टेक’ गर्दा दुर्घटना भएको प्रहरीको अनुमान छ । मृत्यु हुने तीनैजना सप्तरीका हुन ।

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका १० सोनापुरस्थित टाटासुमोले ठक्कर दिँदा सप्तरी तिलाठी गाउँपालिका ७ बस्ने ३५ वर्षीय सुमन सिंहको ज्यान गएको छ । उनी सवार को १८ प २९११ नम्बरको स्कुटरलाई टाटासुमोले ठक्कर दिएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका इन्सपेक्टर मिलन बस्नेतका अनुसार ठक्कर दिने टाटासुमो भेटिएको छैन ।

बुधबार राति पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत बलान खोला पुलमा दुई मोटरसाइकल ठोक्किदा चालक सप्तरी सुरुङ्गा नगरपालिका १ का २० वर्षीय महेश महतोको मृत्यु भएको छ । लहानबाट सप्तरी जाँदै महतो सवार स १० प २५१५ र लहान आउँदै गरेका बा ४६ प ६८८६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्एिको थियो। दुर्घटनामा चारजना घाइते भएका छन् ।

सिरहाको ठाडी सडकखण्ड अन्र्तगत सखुवानन्कारकट्टी गाउँपालिका ३ मा ना ४ ख ४७१३ नम्बरको बसले ओभर टेक गर्ने क्रममा स १० प ३५४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार सप्तरी सुरुङ्गा नगरपालिका ५ कुशहाकी ३५ वर्षीया जुमेदा खातुनको घटनास्थलमै मृत्यु भएको थियो।

उनको १८ वर्षीय छोरा इरफान खान घाइते छन्। यही बसको ठक्करले गएको मंसिर २ गते पनि लहान ३ का ४० वर्षीय कुमारी महतोको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्ता एवंम प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव राज खरेलले बताएका छन् ।