भद्रपुर । प्रदेश .१ का मुख्यमन्त्री शेरधन राईले राजनीतिक अस्थिरताको कारणले खेलकुद ओझेलमा परेको बताए । भद्रपुर नगरपालिका –२ पृथ्वीनगरमा भएको प्रथम मुख्यमन्त्री कराँते प्रतियोगिताको विहीबार उद्घाटन गर्दै राईले अब सङघीय प्रणाली अनुरुप खेलकुदको विकास हुने दाबी गरेका छन् । खेलकुदमा सङर्घस र बलिदान गर्दा देशको नाम संसारभर उच्च राख्न सकिने उनको वुझाइ थियो ।


‘स्वाथ्यका लागी खेलकुद, राष्ट्रकालागी खेलकुद’ भन्ने मूल नाराका साथ गरिएको प्रदेश स्तरीय प्रतियोगितामा कराँतेको क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान गरिएको थियो । प्रदेशसभा सदस्य बसन्त बनियाँ, झलकसिं दर्लामी, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, जिल्ला खेलकुद समिति अध्यक्ष शङ्कर थापा, वरिष्ठ कराँते प्रशिक्षक मदनकुमार उप्रेती, सिनियर कराँते प्रशिक्षक कालु मेचे, सौरभ प्रधान, ईलामका सिनियर कराँते प्रशिक्षक योगबाहादुर राई (योगेश चाम्लिङ), झापा कराँते टेक्निकल समितिका सचिव जगन कार्कीलाई सम्मान गरिएको थियो ।

प्रदेश १ का १० वटा जिल्लाका १ सय ५० खेलाडीको सहभागिता रहेको कार्यक्रममा ३० जना प्राविधिक रेफ्री रहेका छन् । पृथ्वीनगर कराँते डोजोको आयोजना, भद्रपुर नगरपालिका २ को संयोजन र झापा कराँते टेक्निकल समितिको प्राविधिक सहयोगमा शुक्रबारसम्म सञ्चालन हुने भएको छ ।

स्थानीय खेलकुद प्रेमी शिवकुमार राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नगर प्रमुख श्रेष्ठले गरेका थिए भने कार्यक्रमको सञ्चालन आयोजक सदस्य दुर्गाराज निरौलाले गरेका थिए । कार्यक्रम होलिल्याण्ड अङ्ग्रेजी विद्यालयको विषेश सहयोगमा भएको थियो ।