विराटनगर/अखिल जनतान्त्रिक तराई मुक्तिमोर्चा विवेक समूहका चार जनाले हतियारसहित सरकारी वर्ता टोलीसमक्ष यहाँ आज आत्मसमर्पण गरेका छन् । 

नेपालको संविधानको मूलधारमा रही काम गर्ने र समान्य जीवनयापन गर्ने उद्देश्यका साथ रामु कामैत भन्ने रामनन्दनकुमार कामैत, विनायककुमार यादव, विनोदकुमार यादव र जयप्रकाश लिचपुरिया छन् । 

उनीहरूले तीन थान पेस्तोल वार्ता टोलीका संयोजक सोमनाथ पाण्डेललाई बुझाए । अन्य बाँकी हतियार पुसको पहिलो सातामा बुझाउने भनिएको छ । गएको भदौ ८ गते सरकारले गठन गरेको वार्ता टोलीको संयोजक पाण्डेसहित सदस्य सुरेश आलेमगर, ताराकान्त चौधरी र गृह मन्त्रालयका उपसचिव विश्वराज न्यौपाने छोटो अवधिमै २४ वटा समूहसँग कुराकानी गरिसकेको जनाएको छ । 

“कतिपय समूहको अस्तित्व पनि नरहेको र अस्तित्वमा रहेका समूहका केही मानिस जेल छन्”, संयोजक पाण्डेले बताए । वार्ता टोलीका संयोजक पाण्डेले राजनीतिक प्रकृतिको सीके राउतको समूह नभएको र विप्लब समूह राजनीतिक प्रकृतिका भए पनि वार्ताका लागि प्रयास भइरहेको जानकारी दिँदै बिहीबार आत्मसमर्पण गर्ने विगतमा गोइत समूहका भएको स्पष्ट पारे । 

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले संविधान कार्यान्वयनको दिशातर्फ बढिरहेको समयमा यस्ता समूहका मानिस मुुलुकको मूल धारमा आउनु शान्ति र समृद्धिका लागि आधार बनेको चर्चा गरे । 

आत्मसमर्पण गर्ने विनायककुमार यादवले नेपालमा अब विकास गर्नुपर्छ, हत्या हिंसाको राजनीतिले मुलुकको चौतर्फी विकास हुन नसक्ने भएकाले हामी संविधानको मूल धारमा आएको धारणा राखे ।